‘एमालेसँग अहिले चुनावी तालमेल, पछि पार्टी एकता’

चुनावको मुखमा सरकार अल्पमतमा पार्दैनौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ

2351
views

– नारायणकाजी श्रेष्ठ
प्रदेश नम्बर २ को स्थानीय निर्वाचन परिणामसँगै देशको राजनीतिले एकाएक नयाँ मोड लिने संकेत देखिएको छ। प्रदेश २ को निर्वाचनमा अपेक्षित सफलता हात नलागेपछि एमाले उच्च नेतृत्व अप्रत्याशित रुपमा माओवादी केन्द्रसँग नजिकिएको छ । आइतबार बसेको एमालेको स्थाई कमिटि बैठकले माओवादी केन्द्रसँग आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै भोलिपल्ट सोमबार माओवादीको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकता प्रक्रिया अगाडि बढाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयोजन समिति नै गठन गर्यो। देशको राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने गरी एक सातामै एमाले र माओवादी केन्द्र कसरी नजिकिए? एमालेसँग चुनावी तालमेल वा पार्टी एकता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पाएका माओवादी केन्द्रका तीनमध्ये एक नेता नारायणकाजी श्रेष्ठसँगको कुराकानी

एमालेसँगको एकता पनि छापामार स्टाइलमा गर्ने हुनु भएछ, होइन ?
यसअघि पनि बीच बीचमा एकताको विषयमा एमालेसँग कुराकानी हुने गरेको थियो। तर सकारात्मक रुपमा कुराकानी अघि बढेको चाहिँ थिएन । ५–७ दिनअघिदेखि चाहिँ धेरै नै सकरात्मक रुपमा अघि बढेको छ। एकताका लागि हामीले संयोजन समिति बनाएका छौं। यस्तो समिति एमालेलेपनि बनाएको छ। संयोजन समितिमा हाम्रो तर्फबा

ट अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल र म छौं । एमालेमा अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम हुनुहुन्छ । यसको मतलव के भने, एकताको प्रयास अब उच्चस्तरबाटै हुन्छ ।

दुवै पार्टीलाई अकास्मात एकताको आवश्यकता कसरी पर्यो ?
दुवै पार्टीमा इगोको समस्या थियो। एकले अर्कोलाई सिध्याउनु पर्छ भन्ने भावना थियो। यस्तो भावना खासगरी एमालेमा धेरै थियो। तर निर्वाचन परिणामहरुले के देखाए भने, न एमालेले माओवादीलाई सिध्याउन सक्दो रहेछ, न एमालेलाई माओवादीले । २ नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनपछि त झन् यो कुरा प्रष्ट भयो । यसबाट के हुने भयो भने, एमाले र माओवादी केन्द्र प्रतिस्पर्धा गरिरहने, एकले अर्कोलाई सिध्याएर आफू ठूलो कम्युनिष्ट केन्द्र पनि बन्न नसक्ने

। जनमत चाहिँ कम्युनिष्टहरुको पक्षमा देखिने, तर परिणाममा चाहिँ गैर कम्युनिष्टहरुले लामो समयसम्म सत्ताको नेतृत्व गर्ने देखियो । यही कुरा बोध भएपछि साँच्चिकै एकता गर्ने दिशातिर राजनीति अघि बढ्यो ।

कांग्रेससँग सत्ता सहकार्य गरिरहेको माओवादी केन्द्र कांग्रेसलाई नै पाखा लगाउने गरी एमालेसँग एकता गर्न कसरी अग्रसर भयो ?
हामीले त्यसो भनेका छैनौं । यो राजनीतिक वैचारिक कुरा हो । कांग्रेसले पनि विचार मिल्ने पार्टीहरुसँग मोर्चा वा एकता बनाएर गए हुन्छ । हामी बीचपनि वैचारिक रुपमा समानता भएकाले एकताको प्रयास थालेका हौं । के कुरामा प्रष्ट छौं भने, हामी अहिले कांग्रेससँग सत्ता सहकार्यमा छौं। तर रणनीतिक रुपमा कांग्रेससँग नै मिलेर जाने भन्ने कुरा गलत हो । उसँग लामो समयसम्म मिलेर जाँदा सामाजिक आर्थिक रुपान्तरणको हाम्रो योजना सफल हुन सक्दैन । त्यस्तो रुपान्तरणका

लागि त वामपन्थी दलहरुबीच सहकार्य हुनैपर्छ । एकताको योजना खासमा सामाजिक आर्थिक रुपान्तरणका लागि हो । किनभने, जनताले कम्युनिष्टहरुलाई त्यसैका लागि मत दिएका हुन् ।

एकता कहिलेसम्म होला त ?
भर्खर माओवादी केन्द्रले एकता संयोजन समिति बनाएको छ । समितिलाई कसरी जाँदा उपयुक्त हुन्छ भन्ने अधिकार पार्टीले दिएको छ । के कसरी जाने भन्ने सम्बन्धमा अब छलफल सुरु हुन्छ । सम्भवतः (मंगलबार) दिनभरि हामी एकताका लागि घनिभूत रुपमा कुराकानी गर्नैछौं र छिट्टै निष्कर्षमा पनि पुग्नेछौं । सम्भवतः तत्कालका लागि चुनावी तालमेल गर्ने निर्णय हुनसक्छ, त्यसपछि पार्टी एकता ।

चुनाव अघि पार्टी एकता भएन भने चुनावी तालमेल

 कुन मोडालिटीमा होला ?
सम्भवतः ६० र ४० को अनुपातमा हुन सक्छ ।

एमालेको तल्लो तहमा माओवादी विरोधी भावना तीब्र छ। माओवादी केन्द्रमा पनि त्यस्तै देखिन्छ। यस्तो स्थितिमा एकताको सकारात्मक प्रभाव तल्लो तहमा देखिएला ?
एकदम देखिन्छ । एमालेको माथिदेखि तल्लो पंक्तिसम्म एकता गर्नुपर्छ भन्ने भावना छ । माओवादी केन्द्रमा त झन् यो भावना प्रवल छ । दुवै पार्टीको केन्द्रमा समेत जसले एकताको विरोध गर्नुहोला भन्ने सोचिएको थियो, उहाँहरु नै एकताको पक्षमा प्रखर रुपमा आउनु भएको स्थिति छ ।

एमाले–माओवादी केन्द्रबीचको एकताले शेरबहादुर देउवा सरकारको आयुलाई असर गर्छ कि गर्दैन ?
माओवादी केन्द्र सरकारमा छ । एमाले विपक्षमा छ । तर हाम्रो नीति तत्काल सरकार छाड्ने भन्ने छैन । एमालेसँग चुनावी तालमेल होस् वा पार्टी एकता– अविश्वासको प्रस्ताव ल्याएर सरकारलाई अल्पमतमा पार्ने योजनामा हामी छैनौं । किनभने, चुनाव सम्मुखमा आइसकेको छ । नेपालखबरबाट