रातोमाटो आयस्रोतको बाटो

2523
views

म्याग्दी, १८ असोज । यहाँ रातोमाटो बिक्री गरेर जीवन गुजार गर्नेहरुलाई घर छयाप्ने रातोमाटो आयस्रोतको बाटो बनेको छ । बेनी नगरपालिका–१ ढाँडथरका विपन्न घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाउँदै आएका हुन् ।

घरनजिकको पाखोबाट रातोमाटो ल्याएर पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको ८० देखि एक सय रुपैयाँसम्म पर्ने गरेको बताईन् ।

ढाँडथर निवासी कृष्णवहादुर विकले पनि घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउन रातोमाटो बिक्री गर्दै आएको बताए ।

‘दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी मिना रामदामले भनिन् ‘‘रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई २० रुपैयाँमा र बाहिर लगेर विक्री गर्दा प्रतिपाथी ८० देखि एक सयमा विक्री गर्दै आएकी छु ।’

रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले यो पेसालाई प्राथमिकता दिँदै आएका छन् ।