प्रधानमन्त्रीको गृह जिल्लाः देउवा पक्षिय र विरोधी गुटद्वारा बेग्लाबेग्लै उम्मेदवारको नाम सिफारिस

2023
views

नवदृष्टि संवाददाता
डडेल्धुरा, १९ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई बाम एकताले ठूलो झट्का लागिरहेका बेला पार्टीभित्र सल्बलाएको गुटले झनै तनाव सिर्जना गरेको छ । देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्र चर्को विवाद सुरु भएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै विवादका कारण जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालगायतका महत्वपूर्ण क्षेत्रमा पराजय व्यहोरेको कांग्रेसभित्र निर्वाचन नजिकिँदै जाँदा विवाद चरम उत्कर्षमा पुगेको हो । डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल पक्षले देउवानिकट मानिने कांग्रेस नेताहरूलाई पार्टी विधान र निर्णयको पटकपटक अवज्ञा गरेको आरोप लगाउँदै कारबाही सिफारिस गरेपछि विवाद चुलिएको हो ।

देउवानिकट समानुपातिक सांसद नरभान कामी, पूर्वसभापति रघुवर भट्ट, देउवाका पूर्वस्वकीय सचिव गोविन्द बोहरा, नेविसंघ अध्यक्ष नैनसिंह महर, जिल्ला कार्यसमिति सचिव लक्ष्मी अवस्थी, महिला संघ अध्यक्ष मानकुमारी थापा, परशुराम नगरपालिकाका निर्वाचित प्रमुख भीमबहादुर साउद र भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टलाई कारबाही सिफारिस गरेपछिको उत्पन्न विवाद उत्कर्षमा पुगेको हो ।

त्यसो त अमरगढी नगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार डिल्ली जोशी, उपमेयर पदका उम्मेदवार पार्वती झुकाल, कांग्रेसका पूर्व जिल्ला सचिव हेमराज चटौत, दलित नेता चन्द्री टमटालगायत १४ जनालाई समेत कारबाही सिफारिस गरेपछिको विवादले काँग्रेलाई निकै सकस बनाएको छ ।

प्रधानमन्त्री देउवाको गृह जिल्लाबाट कांग्रेसका दुवै गुटले प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा उम्मेदवार पनि बेग्लाबेग्लै सिफारिस गरी केन्द्रमा पठाएका छन् । दुवै पक्षले प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेका छन् । देउवा पक्षीय नेताहरूको बैठकले कांग्रेस नेतृ आरजु देउवाको नाम समानुपातिकमा सिफारिस गरेको छ भने मल्ल पक्षले आरजुको नाम सिफारिस गरेको छैन । प्रदेशसभामा पनि दुवै गुटले अलगअलग नाम टिकटका लागि सिफारिस गरेका छन् ।

कांग्रेस जिल्ला समितिमा पदाधिकारीसहित निर्वाचित २४ सदस्यमध्ये मल्ल पक्षमा ८ जना मात्र देखिएका छन् भने अरू १६ जना गोविन्द बोहरा समूहमा छन् । बुधबार दुवै पक्षका बेग्लाबेग्लै बैठक बसी उम्मेदवारको नाम सिफारिस गरिएको छ ।