जनयुद्वका साहसी कमाण्डरः गगन थापा प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार

2200
views

मिनराज केसी
पर्वत, १९ असोज । जनयुद्वले जन्माएका थुप्रै कमाण्डरहरु नेकपा (माओवादी केन्द्र) मा रहेका छन् । यसैबीच जनयुद्वको कमाण्डर भई लड्दै आएका माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य गगन बहादुर थापा ‘प्रदीप’ पर्वत निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् ।

आन्दोलनका क्रममा प्रहरी गिरफ्तारमा पर्दाको फाईल तस्विर


थापालाई पार्टीको बैठकले समेत सिफारिस गरिसकेको छ । पहिलो संविधान सभाको निर्वाचनमा माओवादी विजयी भएको क्षेत्र नं २ मा थापाको उम्मेदवारी सफल हुने निष्कर्ष सहित माओवादी केन्द्रले सिफारिस गरेको भएपनि उम्मेदवारी नदिने मनस्थितिमा रहेका उनलाई कार्यकर्ता र जनताको दबाबपछि उनले प्रत्यक्ष लड्ने बताएका हुन् ।

समानुपातिक उम्मेदवार समेत नलड्ने बताउँदै आएका थापालाई पर्वत निर्वाचन क्षेत्र नं २ मा विजय हासिल गर्नका लागि पार्टी र कार्यकर्ताको दबापछि प्रत्यक्ष चुनाव लड्न उम्मेदवारी सिफारिस गर्न बाद्य बनाइएको माओवादी केन्द्रका एक नेताले नवदृष्टिलाई बताए । यस्तै माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य नेत्र अधिकारीले पर्वत निर्वाचन क्षेत्र नं २ माओवादीको गढ मनिएकोले थापाको उम्मेदवारी प्रभावकारी ठानेपछि पार्टीको दबाब बढ्नु स्वभाविक भएको बताए ।

निर्वाचन अप्रत्यासित घटना हो, जित र हार दुवैको मेल हो, तर, पार्टी, नेता कार्यकर्ता र जनताबाट आउने दबाब थेग्नका लागि जनचाहाना पुरा गर्नु एउटा कम्युनिष्ट सिपाहीको दायित्व हो ।

गगन थापा पार्टीको ईमान्दार सिपाही र जनता माझ पहिचान बनाएको नेता भएकोले उनले प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिनु समयको आवश्यकता भएको निर्वाचन क्षेत्र नं १ प्रत्यक्ष तर्फबाट उम्मेदवारी सिफारिस भएका केशव कुँवरले बताए । कुँवरले भने ‘पार्टीमा थुप्रै आकाँक्षी उम्मेदवारहरु छन् तर समयले प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मेरो उम्मेदवार सिफारिस हुनु र प्रदेश तर्फ निर्वाचन क्षेत्र नं २ बाट थापाको उम्मेदवारी सिफारिस हुनु जनमतको कदर हो ।’

उम्मेदवारको लागि पार्टीका नेता कार्यकर्ताको चर्को दबाब खेपेका थापाले अझै पनि पार्टीको सिपाही भई काम गर्ने मनस्थिति रहँदा रहँदै पनि जनता, पार्टीका नेता तथा कार्यकर्ताबाट आएको दबाबलाई नकार्न नमिल्ने बताएका छन् । उनले भने ‘मैले जनयुद्वका क्रममा थुप्रै मोर्चाहरुको नेतृत्व गरेको हुँ, मलाई कमाण्डर नै ठिक थियो र हुनुपनि पथ्र्यो तर आदरणीय नेताहरु र कार्यकर्ता समर्थकहरुबाट समेत आएको प्रस्तावलाई नकार्न नसकेपछि मैदानमा उत्रिनुको विकल्प हुँदैन ।’

उनको उम्मेदवारीलाई प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट सिफारिश माओवादी केन्दका नेता दिपक आचार्य, र प्रदेश तर्फकै समानुपातिक उम्मेदवारमा सिफारिस महिला नेतृ मनरुपा शर्माले समेत गगन थापाको उम्मेदवार समय र पस्थितिको माग भएको दाबी गर्दै भने ‘आकाँक्षी नेताहरु मध्ये थापा पार्टीको सिनियर नेतृत्व भएकोले उम्मेदवारी सिफारिस हुँदा निर्वाचन क्षेत्र नं २ बाट जनमत प्राप्त हुन्छ भन्ने विश्वास सहित समर्थबन बढेको हो ।’

थापा विहादी गाउँपालिका–३ का स्थायीवासी हुन । उनले २०४२ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरी २०५२ सालमा माओवादी जनयुद्वमा पूर्णकालिन भई सहभागी भएका थापाको उम्मेदवारीले निर्वाचन क्षेत्र नं २ माओवादीको पोल्टामा जाने निश्चित भएको माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्त बहादुर तमुको भनाई छ ।