शिक्षामन्त्रीको ठाडो निर्देशनले सीटीईभीटीमा खैलाबैला

1828
views

काठमाण्डौ, २० असोज । शिक्षामन्त्री गोपालमान श्रेष्ठको निर्णय र ठाडो निर्देशनले सीटीईभीटीमा खैलाबैला मच्चिएको छ । मन्त्री श्रेष्ठले प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका कलेजहरुलाई सम्बन्धन दिएपछि खैलाबैला भएको हो । मन्त्रीले दुईदर्जन भन्दा बढी कलेजहरुलाई सम्बन्धन दिएका छन् । अरु विषयका पढाई सुरु गरिसकेका कलेजहरुलाई नयाँ विषयमा पनि यसै वर्षबाट पढाउन पाउने गरी सम्बन्धन दिन लगाएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीईभीटी) ले सम्बन्धन दिन आज (शुक्रबार) परिषद् बैठक बोलाएको छ । आफै अध्यक्ष भएको बैठक मन्त्रीकै ठाडो आदेशमा बस्न लागेको हो । सीटीईभीटी कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र श्रेष्ठले शैक्षिक सत्र सुरु भइसकेकाले सम्बन्धन दिन नमिल्ने बताए ।

प्रक्रिया पूरा भएका र पूर्वाधार बनेका कलेजहरुलाई शैक्षिक सत्र अगाडि नै सम्बन्धन दिन मिल्ने तर अहिले नमिल्ने भन्दै कर्मचारीले समेत विरोध गर्दै आएका थिए । तर, मन्त्री श्रेष्ठले कसैको कुरा नसुनेर बैठक बोलाएका हुन् ।

मन्त्रीले चुनाव खर्च जुटाउन प्रक्रिया पूरा नगरेका र पूर्वाधार नभएका कलेजहरुलाई सम्बन्ध दिन लागेको कर्मचारीकै आरोप छ । सीटीईभीटीअन्तर्गतका कलेजमा भदौ १५ देखि नै पढाइ सुरु भइसकेको छ ।