बार्गेनिङमा राजपा र फोरम, प्रतिनीधिसभाको ५५ सिट माग्यो

1526
views

काठमाण्डौ, २२ असोज । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई काँग्रेस गठवन्धनमा बार्गेनिङ पावर बढेको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा प्रतिनिधिसभाको ५५ सिट दाबी गरेको छ । राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने छुट्टै सहमति गरेपछि उसको बार्गेनिङ पावर बढेको हो । कांग्रेस नेतृत्वको गठबन्धनमा ६ दल छन् १६५ सिटमा ५५ सिट संघीय समाजवादी र फोरमले मागेको हो ।

आइतबार पनि राजपा नेताहरु र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनको कार्यदलमा भने राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र संघीय फोरमका रामसहाय यादव सहभागी भएका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले भने, हामी वामपन्थी शक्ति नआओस् भन्न चाहन्छौं । यसका लागि कांग्रेस लचिलो हुनुपर्छ । हामीले जित्ने ठाउँ हामीलाई दिनुपर्छ ।’ जसका लागि ‘१६५ मा हामीलाई ५५ सिट चाहिन्छ भनेका छौं ।’
एक नेताका अनुसार प्रदेश २ मा मात्र ३२ मध्ये २४ सिट आफूहरुले पाउनु पर्ने दुई दलको दाबी छ । यो सहमति गरेमा कांग्रेसको भागमा मात्र ८ सिट बाँकी बस्छ ।
यस्तै प्रदेश १ का झापामा एक, मोरङमा २ र सुनसरीमा २ सिट दाबी गएरिएको छ । प्रदेश ५ का साथै प्रदेश १ का पहाडी जिल्लाहरुमा दुई दलले सिट दाबी गरेका छन् । राजपा र फोरमले प्रदेशसभामा पनि प्रत्यक्षतर्फ देशभरका ३३० मध्ये १३१ सिटमा दाबी गरेका छन् ।