मैना सुनार प्रकरणः सरकार विरुद्ध सेनाले हालेको मुद्दामा फाइल मगाउने आदेश

1082
views

काठमाण्डौ । सर्वोच्च अदालतले द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी मैना सुनार प्रकरणमा नेपाली सेनाका तर्फबाट प्राड (कानून) विभागले दर्ता गरेको मुद्दामा जिल्ला अदालतसँग फाइल मगाएको छ ।

अवकाश प्राप्त तीनजना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा प्राड विभागले भदौ १६ गते रिट दायर गरेको थियो । न्यायाधीशद्वय चोलेन्द्र शमसेर राणा र टंकबहादुर मोक्तानको इजलासले जिल्ला अदालतको फैसला, नेपाली सेना र सैनिक अदालतले गरेका कारबाही सम्बन्धी निर्णयहरुको फाइल मगाउने आदेश गरेको हो ।

नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राख्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा जन्मकैद अर्थात २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

उक्त मुद्दामा सहभागी हुन अस्वीकार गरेका सैनिक अधिकारीको सर्मथनमा सेनाले सरकार विरुद्ध मुद्दा हालेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, काभ्रे जिल्ला अदालत, मैना सुनारकी आमा देवी सुनार लगायतलाई विपक्षी बनाइ भदौमा रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले फाइल मगाएको हो ।