कात्यानी मन्दिरमा पूजाआजापछि घरदैलो अभियानमा प्रकाशमान सिंह

926
views

काठमाण्डौ, २० कार्तिक । विजयपछि फेरी आउँछु कात्यानी माई भन्दै नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्रनम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भिमसेनगोलास्थित कात्यानी मन्दिरमा पूजाआजा गरेर घरदैलो अभियान शुरु गरेका छन् ।
सोमबार बिहान पत्नी सिर्जना र नेता कार्यकर्ताहरुसहित मन्दिर पुगेका उनलाई पुजारीले टीका लगाए । मनभरीका आर्शिवाद दिदैं पुजारीले भने जनताको मन जितेर काम गनुृहोला ।
काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमान सिंहले निरन्तर जित्दै आएको ठाउँ हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका सिंहले यसपाली पनि चुनाव जित्ने दाबी गर्दै आएका छन् । सिंहले यसपटक प्रतिनिधि सभा निर्वाचनमा पनि उनी काठमाडौं १ बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र वाम गठवन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशमानले मन्दिरमा टीका र प्रसाद ग्रहण गरेपछि स्थानीयबासीलाई भेट्दै र हात मिलाउँदै भोट माग्न थाले, ’नेपाली कांग्रेसलाई भोट दिनुहोला, मलाई जिताउनुहोला ।’
स्थानीयले प्रकाशमानसँग धेरै प्रस्ताव राखे । मेलम्चीको पाइप बिछ्याउने क्रममा भत्काइएको सडक लामो समयसम्म मर्मत भएको छैन् त्यसको सजाँय भोगिरहेका छौं यसको ग्यारेण्टी गरिदिनुप¥यो । मेलम्चीको पानी छिटो ल्याउनुपर्यो, बिग्रिएको बाटो बनाउनु पर्यो ।

हरेक निर्वाचनमा प्रकाशमानले जित्दै आए पनि बाटो र खानेपानीको समस्या समाधान नभएको गुनासो अधिकांश मतदाताको थियो । विपक्षीहरुले जिचिरहँदा काँग्रेसले काम गर्न नपाएको सिंहले जवाफ दिएका छन् । उनले धोबिखोला करिडोर केही बनेको र केही बन्ने क्रममा रहेको पनि मतदाता समक्ष भन्दै थिए ।
उनले सामुदायीक विद्यालयहरुमा भवन र कक्षा कोठा बनाएको, खानेपानीको बन्दोबस्त मिलाएको र पद्मकन्या सामुदायीक स्कुलमा नमूना छात्राबास बनाएको विषय भन्न छुटाउँदैनथे । त्यतिमात्रै होइन उनले सडकमा सोलार बत्ती जडान भएको विषयलाई पनि आफ्नो उपलब्धीको रुपमा ब्याख्या गरे ।

उनले नयाँ पार्टीहरुले केबल नारामात्र दिने तर काम गर्न नसक्ने मतदाता समक्ष गुनासो पोखे । ’पुराना पार्टीहरुको जुन अनुभव छ त्यो नयाँ पार्टीहरुसँग हुँदैन । देश विकास टेस्टेड पार्टीहरुले मात्रै गर्नसक्छ,’ प्रकाशमानले भने, ’राजनीति रत्नपार्कमा बसेर चटकेले चटक देखाएजस्तो होइन ।’ यसरी भोट माग्दै घरदैलो अभियानमा लागे सिंहले भारी मतले चुनाव जित्ने आकाँक्ष राखेका छन् ।