निर्वाचन पर्यवेक्षण जिम्मेवार र जटिल विषय हो–यादव

891
views

काठमाण्डौ, २४ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षण जिम्मेवार र जटिल विषय भएकोले स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गर्नुभएको छ । पर्यवेक्षणलाई हुलुका र रहरका रुपमा नलिन पनि यादवले आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त गरेका राष्ट्रिय संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको पर्यवेक्षण नजिकका जिल्ला र शहरमा मात्र नभई दुर्गम र माथिल्लो भेगमा समेत हुन आवश्यक रहेको बताउनुभयो ।

बताउँदै भन्नुभयो, “निर्वाचन पर्यवेक्षणको काम निकै जिम्मेवार र जटिल विषय हो, पर्यवेक्षण सूक्ष्म र बृहत् रुपमा हुनुपर्छ, निर्वाचनलाई आयोगको व्यवस्थापनका रुपमा मात्र नहेरी हाम्रो जिम्मेवारी र कर्तव्य हो भन्ने सोच सबै सरोकारवालामा हुन आवश्यक छ ।

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता र सरोकार भएकाहरु सतर्क हुने र त्यसबाट निर्वाचनलाई सहयोग पुग्ने बताउनुभयो ।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा एकरुपता ल्याउन र एउटै बुझाइ होस् भनेर प्रशिक्षणको आयोजना गरिएको जनाउँदै पर्यवेक्षण आचारसंहिताभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिनुभयो ।

आगामी निर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले स्वदेशी ५२ र विदेशी चारसंस्थालाई अनुमति दिएको छ ।