संसदिय व्यवस्थामा आएका कम्युनिष्टको लागि साम्यवाद दिवासपना–सिंह

1056
views

काठमाण्डौ, २४ कार्तिक । प्रकाशमान सिंहले साम्यवाद दिवासपना भएको भन्दै बहुदलिय संसदिय व्यवस्थामा आएका कम्युनिष्टहरुलाई साम्यवादी सपना छोड्न सुझाव दिए । उनले साम्यवाद दिवासपना भएको भन्दै सफल हुन नदिने चेतावनी समेत दिए ।
नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका प्रकाशमान सिंहले कम्युनिष्टहरले एकदलीय शासन व्यवस्था कायम गर्न खोजेको बताए । उनले बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा चुनौति दिनेहरुविरुद्ध कांग्रेसले डटेर सामना गर्ने भन्दै राणा, राजा फालेको काँग्रेसले एकदलिय व्यवस्था ल्याउन नदिने जिकिर गरे । गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतीमा आयोजित कार्यक्रममा प्रकाशमानले कम्युनिष्टहरुलाई साथमा लिएर बहुदल ल्याउन सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहले खेलेको भूमिका स्मरण गरे ।

नेता सिंहले ‘नेकपा एमाले र माओवादी केन्द्रले एक भई निर्वाचनमार्फत साम्यवाद ल्याउने सपना देखेका छन्, यो दिवासपना मात्र हो, सफल हुन दिँदैनौं ।’ संसारभरि फेल भइसकेको साम्यवाद वाम गठबन्धनले नेपालमा ल्याउन नसक्ने दाबी गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले प्रजातन्त्र पुनःस्थापनाका लागि सर्वोच्च नेता गणेशमान सिंहको योगदान अतुलनीय रहेको बताए ।

गणेशमान सिंहले ०४६ को जनआन्दोलनको नेतृत्वदायी भूमिका खेलेका थिए । उनकै अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर प्रजातन्त्र स्थापना गरेका थिए । गणेशमान सिंहको भूमिकाको सम्मान गर्दै तत्कालीन सरकारले ‘सर्वमान्य नेता’ र यातनाबाट नगल्ने ‘लौह पुरुष’को संज्ञा दिएको छ । प्रकाशमान सिंह उनै गणेशमान सिंह र मंगलादेवी सिंहको छोरा हुन् । सो अवसरमा उनले शोभा भगवतीस्थित आफ्ना माता–पिताको शालिकमा माल्यार्पण गरेका छन् ।

जन्मजयन्तीको अवसरमा शान्तिबाटीकास्थित गणेशमानको शालिक अगाडि पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति डा. रामवरण यादव लगायतको उपस्थिति थियो ।