देशभक्त जनगणतान्त्रिक मोर्चा (मुठ्ठी) चिन्हका पर्वतेली उमेदवारहरु घरदैलो अभियानमा

प्रत्येक बुथमा देजमो सम्वद्ध युवा परिचालनको रणनीति

1004
views

पर्वत, २४ कार्तिक । देशभक्त जनगणतान्त्रिक मोर्चा पर्वतले चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रमलाई तिव्र बनाउँदै लगेका छन् । पर्वतबाट प्रतिनीधि सभा प्रत्यक्षमा कुश्माखर भुसाल ‘आशिष’, प्रतिनीधि सभा समानुपातिकमा तेजेन्द्र प्रसाद पौडेल, प्रदेश सभा ‘क’ मा महान गुरुङ र प्रदेश सभा ‘ख’ का उम्मेदवार जित बहादुर नेपालीले चुनावी अभियानलाई तिव्र बनाएका हुन् । 

चुनावलाई क्रान्तिकारी उपयोगको रुपमा प्रयोग भन्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) ले मुठ्ठी चिन्हमा मतदान गर्न अपिल गर्दै देशैभर चुनावी अभियानलाई तिव्रता दिदैं आइरहेका बेला पर्वतमा पनि घरदैलो अभियानमा जुटेका हुन् ।

पर्वतमा प्रतिनीधि सभाका उम्मेदवार एवं युवा नेता कुश्माखर भुसालले देशभक्त जनगणतान्त्रिक मोर्चालाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका छन् ।भुसालले देशले क्रान्तिकारीहरुको नेतृत्वमा निकास खोजीरहेका बेला राष्ट्रियता, जनजीविका र जनतन्त्रका मुल मुद्दाहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा मात्र अडिग रहेको बताउँदै मुठ्ठी चिन्हमा मतदान गर्न अपिल गरे ।

यस्तै निष्ठावान, ईमान्दार र नैतिकवान   नेता एवं समानुपातिक उम्मेदवार तेजेन्द्र प्रसाद पौडेलले मुलुकको निकासका लागि देशभक्त जनगणतान्त्रिक मोर्चालाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गरेका छन् । पौडेलले मुलुकलाई बन्धक बनाएर राख्नेहरु चुनावमा हावी हुँदा देशले ठूलाठूला संर्घषहरु झेल्नुपरेको बताउँदै सचेत नागरिक एवं मतदाताहरुले देशभक्त जनगणतान्त्रिक मोर्चालाई मुठ्ठी चिन्हमा मतदान गर्न आम मतदाताहरुलाई अपिल गरेका छन् ।

यस्तै प्रदेश सभा ‘क’ का उम्मेदवार महान गुरुङले मुलुकको विकास, निकास र समृद्धिका लागि देशभक्त जनगणतान्त्रिक मोर्चालाई नै विजयी गराउनुपर्ने बताए । गुरुङले ‘मुलुकलाई गोलचक्करमा फसाउने, राष्ट्रियता जनजीविकाका सवालहरुलाई कम्जोर बनाउनेहरुको चुनावमा हावी हुँदा देशले कहिल्यै पनि निकास पाउन नसकेको बताए ।

चुनावी अभियानमा देशभक्त जनगणतान्त्रिक मोर्चाका पर्वत प्रदेश नं ‘ख’ का उम्मेदवार जित बहादुर नेपालीले साम, दाम, भेदका नीति अख्तियारी गर्दै चुनाव जित्ने र विजयी भएपछि सम्बन्धित क्षेत्रमा सिन्को नभाँच्ने कपटी नेताहरुलाई मतदान नगर्न मतदातालाई अपिल गरे ।

नेपालीले असल पार्टी, असल नेता र नेतृत्व आझेलमा पर्दा देशले ठूलठूला समस्याहरु भोग्न बाध्य भएको भन्दै प्रतीनिधि सभा र प्रदेश सभामा मुठ्ठी चिन्हमा मतदान गरी राष्ट्रवादी पार्टी नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

समानुपातिक महिला उम्मेदवार भिमकुमारी शर्माले कम्युनिष्टको नाममा झुटको गर्ने नामाधार वाम र देश नै परनिर्भर बनाउने काँग्रेसलाई चुनावबाट पाखा लगाउन आमा मतदाताहरुलाई आग्रह गरिन् । मोर्चाले पर्वतका विगतका चुनावहरुलाई मध्यनजर गर्दै स्वतन्त्र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन व्यापक रुपमा युवाहरु परिचालन गर्ने निर्णय समेत गरेको छ । प्रत्येक बुथमा जनगणतान्त्रिक मोर्चा सम्बद्ध युवाहरु परिचालन गर्ने रणनीति समेत बनाएको देशभक्त जनगणतान्त्रिक मोर्चा पर्वतको निर्वाचन प्रचार प्रसार समितिले जनाएको छ ।