राष्ट्रपतिको यूएई भ्रमणमा कतारको असन्तुष्टी

778
views

काठमाडौं २७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए ।
त्यस्तै परराष्ट्र मन्त्रालयका अधिकारीले समेत संयुक्त अरब इमिरेट्ससहित अन्य खाडी मुलुकले कतारलाई नाकाबन्दी गरिरहेका बेला भ्रमणमा जानु उपयुक्त नहुने सुझाव अनौपचारिक रुपमा राष्ट्रपतिलाई दिएका थिए।
कतार असन्तुष्ट
यसैबीच नेपालका राष्ट्रपतिको युएई भ्रमणप्रति अर्को खाडी मुलुक कतारले कुटनीतिक च्यानलबाट असन्तुष्टि जनाएको छ । दोहास्थित नेपाली राजदूत रमेश कोइरालालाई शनिबार टेलिफोन गरी कतारी विदेश मन्त्रालयका अधिकारीले भण्डारीको युएई भ्रमणप्रति असन्तुष्टि पोखेको दूतावास स्रोतले बतायो ।
जानकार स्रोतका अनुसार कतारले भण्डारीको भ्रमणप्रति असन्तुष्टि जनाउनुमा दुई कारण छन्। पहिलो, कतारमाथि युएई, इजिप्ट, साउदी र बहराइनले जारी राखेको नाकाबन्दीबाट उत्पन्न खाडी संकट । दोश्रो कतारको निम्तोप्रति राष्ट्रपतिको वेवास्ता ।
दूतावासका एक अधिकारीका अनुसार कतारका अमिरले राष्ट्रपति भण्डारीलाई एक वर्ष अघि फेब्रुअरी महिनामा राजकीय भ्रमणको निम्ता पठाएका थिए । त्यतिबेला राष्ट्रपति भण्डारीले पहिला भारत नगई आफू अन्य मुलुकको भ्रमणमा ननिस्कने बताएपछि कतार भ्रमणको लागि प्रक्रिया अघि बढेन । आजको अन्नपूर्णपोस्ट दैनिकबाट