रसुवा, २७ कार्र्तिक । हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ । चुनावी माहोल तातेपछि उम्मेदवार भोट माग्न टोलटोलमा पुगेका छन् । बाम र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान तथा विभिन्न ठाउँमा कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् ।
रसुवामा लोकतान्त्रिक गठबन्धनबाट नेता तथा कार्यकर्ताहरुले आचार संहिता उल्ङघन ब्यापक रुपमा गरेको, निर्वाचन कार्यालयमा जानकारी गराउँदा समेत कुनै पहल नभएको रसुवा बाम गठबन्धनले जनाएको छ ।
आचारसंहिता उलंघन गरेको जानकारी दिंदापनि निर्वाचन कार्यालयले कार्वाही गर्नुको अलवा मौन बसेको भन्दै बामगठबन्धनका कार्यकर्ताहरुले लोकतान्त्रिक गठबन्धनको पर्चा जलाएका छन् ।
निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलले आचारसंहिता उल्लघंन गर्न थालेपछि रसुवा प्रशासनले ध्यानाकर्षण गराएको छ ।
निर्वाचनलाई प्रभाव पार्ने गरी अन्य जिल्लाका व्यक्तिहरुको आवागमन हुनसक्ने भएकाले यसप्रति राजनीतिक दलको आवश्यक पर्ने भएकाले सहयोगका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो ।
रसुवामा चुनावको प्रचारप्रसार गर्न घरदैलो अभियानमा जुटेका दुबै गठबन्धनले अत्यधिक गाडी प्रयोग गरेको, अभियानमा बालबालिकाको प्रयोग गरेको, ठूला पोष्टर पम्प्लेट टाँसेको, सडक निर्माणको काम थालेको लगायतका गुनासाहरु बढ्दै गएका छन् ।
सर्वदलीय बैठकपछि राजनीतिक दलले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता २०७४ को पूर्ण पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।










