नुवाकोटमा रोचक चुनावी प्रचार प्रसार, उम्मेदवारमा देखियो को भन्दा को कमी !

1328
views

रिना खनाल
नुवाकोट, २७ कार्तिक । नुवाकोटमा काँग्रेस र माओवादी केन्द्रका केन्द्रीय तहका नेताहरू कडा चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । दुवैका अभिव्यक्ति र घोषणाले प्रचारप्रसारकार्य रोचक बनेको छ । मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटको छिमेकी जिल्ला रसुवा र धादिङमा पनि संयुक्त वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर हुने देखिएको छ ।

नुवाकोटबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका काँग्रेस नेता केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् ।

वाम गठवन्धका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले संविधानको कार्यान्वयन, रक्षा र विकासका साथै मुलुकको समृद्धिका लागि आफू जनता माझ आएको बताएका छन् । यो क्षेत्रमा पूर्व अर्थमन्त्री डा. रामशरण महत र पोलिट व्यूरो सदस्य हितबहादुर तामाङ मुख्य प्रतिष्पर्धिको रुपमा देखिएका छन् ।

निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले जिल्लाको समग्र उन्नतिका लागि निर्वाचनमा होमिएको बताएका छन् । उनी आफूले जनताको साथ पाउने र विजयी हुने बताउँछन् ।

सोही क्षेत्रबाट वाम गठबन्धनका साझा उम्मेदवार एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा आफूले जिल्लाको सिपाही बनेर राजनीतिक यात्रा अघि बढाइरहेकाले आफ्नो जित सुनिश्चित रहेको बताउँछन् । उनले देशको किासका लागि वाम गठवन्धनलाई मत दिन अपिल गरेका छन् ।

यस्तै, प्रदेश सभातर्फ निर्वाचनमा क्षेत्र नं. १ को क मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ र संयुक्त वाम गठबन्धनबाट माओवादी केन्द्रका पुर्व राज्य मन्त्री राधिका तामाङ मैदानमा रहेका छन् । ख मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका जिल्ला सभापतिका प्रत्यासी रमेशकुमार महत, संयुक्त वाम गठबन्धनतर्फबाट एमालेका जिल्ला उपाध्यक्ष बद्री मैनाली चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै प्रदेश सभातर्फ प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ को क मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र संयुक्त वाम गठबन्धनबाट एमालेका पुर्व विदेशविभाग सचिव केशवराज पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ख मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति जगतबहादुर तामाङ र संयुक्त वाम गठबन्धनबाट माओवादी केन्द्रका जिल्ला संयोजक हीरानाथ खतिवडा उम्मेदवार छन् ।

काँग्रेसका केन्द्रिय सदस्यहरु डा. रामशरण महत र अर्जुननरसिंक ेसी चुनावी प्रतिस्पर्धामा रहेकोले पनि नुवाकोटको निर्वाचनलाई बाहिर जिल्लाबाट पनि उत्सुकताको साथ हेरिएको छ । बाम गठवन्धका कारण काँग्रेसमा प्रभाव जमाएर बसेका नेतारु जिल्लामै हार्ने हुन् की भन्ने जिज्ञासा बढ्दो छ । अझ महतको काका भतिज र केसीको दाजुभाई नै प्रतिनिधि सभा र प्रदेश सभाको उममेदवार बनेका कारण पनि हेर्नका लागि नुवाकोटको चुनाव रोमाञ्चक बनेको मतदाताहरुको प्रतिक्रृया रहेको छ ।

पञ्चायतकालदेखि राजनीतिमा गर्दै राष्ट्रिय पञ्चायतमा सदस्य भएका अर्जुननरसिंह केसी पञ्चायतकालमै दुईपटक राष्ट्रिय पञ्चायत सदस्यमा (रापस) मा उठेका थिए । साथै एकपटक स्वास्थ्य सहायकमन्त्री, एकपटक यातायात राज्यमन्त्री समेत भएका छन् । पछि अर्जुननरसिंह केसी जिल्ला पञ्चायतको सभापति समेत बनेका थिए । उनी ४६ सालको जनआन्दोलनताका सभापतिकै नाताले ‘जनआन्दोलन प्रतिकार समितिको जिल्ला संयोजक’ थिए । बहुदल आएपछि उनी राप्रपा थापाका संस्थापक महामन्त्री समेत बने । लगत्तै काङ्ग्रेस प्रवेश गरेका उनले एकै पटकमा नुवाकोटबाट सांसदको टिकट पाएका थिए ।

बहुदलीय व्यवस्था अन्तर्गतको सांसदमा पाँचपटक उम्मेदवार बन्ने अवसर पाएका उनी पञ्चायतमा समेत गरेर पाँच पटक मन्त्री भइसकेका छन् । सम्पन्न काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा उनी सभापति शेरबहादुर देउवाकोे प्यानलबाट महामन्त्री पदका प्रत्याशी समेत थिए । आगामी मङ्सिर १० गते हुने सङ्घीय संसद्को निर्वाचनमा पनि उनी प्रत्यक्षतर्फबाट काङ्ग्रेसको उम्मेदवार बनेका छन् ।

त्यस्तै, पञ्चायतकालमै संयुक्त राष्ट्रसङ्घको जागिर खाएका डा. रामशरण महत शेरबहादुर देउवा नेविससंघका अध्यक्ष हुँदा उक्त सङ्गठनको महामन्त्री बनेका थिए । राजनीति गर्नकै लागि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट बोलाइएका उनी २०४८ को संसदीय चुनावमा नुवाकोटबाट काङ्ग्रेसका तर्फबाट चुनाव लडेका थिए । तत्कालिन क्षेत्र नं. १ मा चुनाव हारेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका महत नुवाकोटबाटै पाँच पटकसम्म सांसदको टिकट पाएर चारपटक निर्वा्चित भएका छन् । उनी पहिलो पटक नुवाकोटको तत्कालिन क्षेत्र नं. १ मा पराजित भएका थिए । डा. महत चारपटक अर्थ र एकपटक परराष्ट्रमन्त्री समेत भइसकेका छन् ।