देजमोसँग तर्सियो वाम र लोकतान्त्रिक गठवन्धन

‘मुठ्ठी’ चिन्हमा भोट माग्दै चुनावी सभा र घरदैलो कार्यक्रममा उम्मेदवारहरु

2119
views

काठमाडौं । वर्तमान संसदीय व्यवस्थाका विरुद्ध निर्वाचनको क्रान्तिकारी उपयोग गरेको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले देशैभर चुनावी सभा, जनभेटघाट, कोणसभा, टोलसभा र घरदैलो लगायतका कार्यक्रमलाई तीव्रता दिएको छ । संसदीय व्यवस्था, सत्ता र संविधानको भण्डाफोर गर्र्दै नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत निर्माण गर्ने र संगठनको आधार तयार पार्ने उद्देश्य राखेर निर्वाचनमा होमिएका देजमोका उम्मेदवारहरु अहिले जनताको घर घरमा आफ्ना विचार र एजेण्डा लिएर पुगेका छन् ।

हामीलाई प्राप्त जानकारी अनुसार देजमोले ३ नं. प्रदेश अन्तर्गतको काठमाडौंमा शनिबार केन्द्रीय सभा सम्पन्न गरेको छ । काठमाडौं जिल्लाको १० नं. निर्वाचन क्षेत्रलाई विशेष रुपमा लिंदै उक्त निर्वाचन क्षेत्रको सतुङगल क्षेत्रमा शनिबार गरिएको कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’, पार्टीका बरिष्ठ नेता तथा देजमो अध्यक्ष सीपी गजुरेल, पार्टीका पूर्व कार्यालय सदस्य रामसिंह श्रीस, काठमाडौं–१०का उम्मदेवार सुरेश कुमार श्रेष्ठ, देजकोका ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा स्थानीय जनताको व्यापक उपस्थिति रहेको थियो । त्यसैगरेर काठमाडौंका अन्य निर्वाचन क्षेत्रमा पनि निर्वाचन परिचालन समिति निर्माण गरेर कोणसभा, टोलसभा लगायत घरदैलो कार्यक्रमहरु तीव्र रुपमा भइरहेका छन् ।

त्यसैगरी ३ नं. प्रदेशको दोलखामा कात्तिक २९ गते मेलुङ, मंसिर १ गते चौदी, २ गत सिंगटी, ६ गते चरिकोटमा चुनावी सभाहरु राख्ने समय तालिका निर्धारण गरेको छ भने नुवाकोटमा पनि मोर्चा अध्यक्ष सीपी गजुरेलको उपस्थितिमा केन्द्रीय सभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी पहिलो चरणमा निर्वाचन निर्वाचन हुने रामेछापको लखनपुरमा पनि मंसिर २ गते चुनावी सभा राखिएको छ ।

उता १ नं. प्रदेशबाट प्राप्त जानकारी अनुसार शनिबार ओखलढुंगाको साँगुटारमा ओखलढुंगा र रामेछापको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्यहरु आदर्श राई, गगनबहादुर खड्गीले सम्बोधन गर्नुभएको थियो । खड्गी रामेछापबाट उम्मेदवार बन्नुभएको छ । सभालाई ओखलढुंगाबाट प्रतिनिधिसभाका उम्मेदवार रुद्र फुँयाल र लाङ्घाली मगरले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी, १ नं. प्रदेशले १८ पृष्ठ लामो चुनावी घोषणा पत्र सार्वजनिक समेत गरेको छ ।

प्राप्त समाचार अनुसार दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर १३ गतेबाट केन्द्रीय चुनावी सभा गरिने भएको छ भने शनिबार मोरङ र सुनसरीको संयुक्त चुनवी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई १ नं. प्रदेशका पार्टी संयोजक राम आचार्य, मोर्चा संयोजक नगेन्द्र राई, केस केवी फुदोङ, सिताराम बुढाथोकी, मनोज श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी प्रदेश ५ नं. बाट प्राप्त समाचार अनुसार प्रदेशको चुनावी घोषणा पत्र तयार पार्दै यस प्रदेशका जिल्लाहरुमा चुनावी सभा, टोलसभा, जनभेटघाट लगायतका कार्यक्रम तीव्र रुपमा अगाडि बढिरहेका छन् ।

प्राप्त समाचार अनुसार रुपन्देहीमा २४ गतेबाट चुनावी अभियान सुरु भएको छ । अभियान अन्तर्गत जिल्लाका दर्जनौ स्थानमा कोणसभा सम्पन्न भएका छन् । कोणसभालाई उम्मेदवारहरुलगायत पार्टीका ५ नं. प्रदेश संयोजक प्रेमनाथ सुवेदीलगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ । प्रदेशका अन्य जिल्लाहरु रोल्पा, प्यूठान, अर्घाखाँची, बाँके, बर्दिया, गुल्मी लगायतका जिल्लामा पनि चुनावी अभियानहरु चलिरहेका छन् ।

उता ६ नं. प्रदेशबाट प्राप्त समाचार अनुसार दैलेखको आठविस नगरपालिकामा शनिबार विशाल सभा सम्पन्न भएको छ । सभालाई दैलेख २ का प्रतिनिधिसभाका उम्मदेवार कृष्ण गुरुङ, २ ख)का उम्मदेवार दीपक शाही लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रम पारेर आठविस नपामा माओवादी केन्द्रको तर्फबाट उपमेयरकी उम्मेदवार बन्नुभएकी झरना माझी माके परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्नुभएको छ । सोही कार्यक्रमा एमाले परित्याग गरी लोकबहादुर माझी, कसुम विक र मदन विक पनि क्रान्तिकारी माओवादीमा प्रवेश गर्नुभएको छ ।

त्यसैगरी ४ नं. प्रदेशबाट प्राप्त समाचार अनुसार गोरखा जिल्लामा चुनावी कार्यक्रमहरु लिएर देजमोका उम्मदेवारहरु गाउँ गाउँ जानुभएको छ । जिल्लाका गाउँपालिका र नगरपालिका विभिन्न क्षेत्रमा जनभेटघाट, घरदैलो, जनभेटघाट, चुनावी घोषणा पत्रमाथि जनतासँग अन्तक्र्रिया लगायतका कार्यक्रमहरु भइरहेको गोरखा–२ बाट उम्मेदवार बनेका नेता नारायण अधिकारीले बताउनु भयो । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धामा रहेका अधिकारीले देजमोको चुनाव चिन्ह मुठ्ठीको पक्षमा चुनावी माहौल बन्दै गएको दावी गुर्नभयो ।

त्यसैगरी बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा पनि समानुपातिक तर्फका उम्मदेवार प्रा.डा. ओम गुरुङ, भीम श्रीस, बमबहादुर छन्त्याल लगायतका नेताहरु घरदैलो, कोणसभालगायतका कार्यक्रममा लागिरहेको बुझिएको छ ।

नवलपुर–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका नारायण पंगेनीले दिएको जानकारी अनुसार जिल्लामा घरदैलो, चुनावी सभा, कोणसभालगायतका प्रचार प्रसारका कार्यक्रमलाई तीव्रता दिइएको छ ।

उता ७ नं. र २ नं. प्रदेशबाट प्राप्त समाचार अनुसार ती प्रदेशका जिल्लाहरुमा पनि चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ । देजमो र चुनाव चिन्ह “मुठ्ठी”को पक्षमा विस्तारै चुनावी माहौल बन्दै गएको देजमोका उम्मेदवारहरुले दावी गर्नुभएको छ ।