वामपन्थी मिल्दा काँग्रेसमा भुइँचालै गयोः नेता केसी

797
views

जितपुर, कपिलवस्तु, २८ कात्तिक । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गर्नुभएको छ ।

चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो ।

राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै काँग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गर्नुभयो ।

सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराउनुभयो ।

केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठूला पार्टी मिले अब के होला ? भनेर प्रश्न गर्नुभएको पनि उल्लेख गर्नुभयो ।

आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठीक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उहाँले बताउनुभयो ।

संघीयताका कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुकलाई निकास नदिने पनि दोहो¥याउनु भयो ।