‘निर्वाचन उपयोगको नीतिले उत्साह, गतिशिलता र अनुकूलता बढेर गएको छ’

1189
views

-सीपी गजुरेल, (अध्यक्ष– देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल)
‘देशभक्त जनगणतान्त्रिक मोर्चा नयाँ संगठन पनि भएको हुनाले हामीले यति व्यापक र हस्तक्षेपपूर्ण उमेदवारी दिन सक्ने छौं वा दिनेछौं भन्ने धेरैले सोचेका पनि थिएनन् होला । हाम्रो यस प्रकारको हस्तक्षेपले एकातिर क्रान्तिकारी पंक्ति र खासगरी वामपन्थी जनताका वीचमा ठुलो उत्साह पैदा भएको छ भने प्रतिकृयावादी गठबन्धनमा एक प्रकारको त्रास पैदा भएको छ ।’

‘माकेको एमालेमा विलयको प्रकृया अन्तिमतिर जाँदै गर्दा हामी नै एकमात्र क्रान्तिकारी विकल्पको रुपमा स्थापित हुँदै गएका छौं । नेपालमा क्रान्तिकारी परिवर्तनको आवश्यकता दिनदिनै सावित हुँदै जाने छ । त्यसको निमित्त लड्ने एकमात्र शक्तिका रुपमा स्थापित हुन पाउनु हाम्रो लागि सबै भन्दा ठुलो अवसर हो ।’

–देजमोले कुनै गठबन्धनको पछि नलागी देशैभर प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकमा गरी ५ सय २८ जनालाई उम्मेदवार बनायो । यो उम्मेदवारीलाई गठबन्धनवालाहरुले कसरी लिएको पाउनु भएको छ ?

तपाईंले उल्लेख गर्नु भएको कुरा सहि नै हो । केही समय पहिले नेपालमा ”वामपन्थी”का नाममा एमालेको नेतृत्वमा एउटा र “लोकतान्त्रिक”का नाममा नेपाली कांग्रेसका नाममा अर्को गठवन्धन बनाइएका छन् । न त एमाले र माओवादी केन्द्र (माके) मिलाएर बनाइएको गठबन्धन वामपन्थी हो, न त नेका र राप्रपाहरु मिलेर बनेको गठबन्धन लोकतान्त्रिक हो, ती दुबै प्रतिकृयावादी गठबन्धन हुन् । त्यसकारण हामी ती दुबैका पछाडि नलागेर तिनीहरुको भण्डाफोर गरिरहेका छौं र हामीले प्रत्यक्ष र समानुपातिक दुबैमा तपाईंहरुले उल्लेख गरेजस्तै आफूलाई ठुला पार्टी भन्नेहरु जतिकै उमेदवारी दिएका छौं । यो कुरा पनि सत्य हो कि देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुले ने क पा (क्रान्तिकारी माओवादी) लाई पटक पटक फुटाएर लिथो–लिथो बनाएका छन् । अर्का्तिर देशभक्त जनगणतान्त्रिक मोर्चा नयाँ संगठन पनि भएको हुनाले हामीले यति व्यापक र हस्तक्षेपपूर्ण उमेदवारी दिन सक्ने छौं वा दिनेछौं भन्ने धेरैले सोचेका पनि थिएनन् होला । हाम्रो यस प्रकारको हस्तक्षेपले एकातिर क्रान्तिकारी पंक्ति र खासगरी वामपन्थी जनताका वीचमा ठुलो उत्साह पैदा भएको छ भने प्रतिकृयावादी गठबन्धनमा एक प्रकारको त्रास पैदा भएको छ ।

‘हामी पनि त्यही गठवन्धनमा सामेल हुन पुगेको भए, नेपालमा क्रान्तिकारी आन्दोलन अघि बढाउने, समाजमा आमूल परिवर्तन गर्ने एजेण्डा बोकेको, राष्ट्रिय स्वाधिनतालाई जोगाउने, गास, बास, कपासका समस्या, बेरोजगारीका समस्याका समाधानका लागि लड्ने कुनै पार्टी वा संगठन नै बाँकिरहने थिएन ।’
–निर्वाचनलाई उपयोग गरेपछि दुईमध्ये एक गठबन्धनमा गएको भए केही सिट सुरक्षित हुने र संसदमा प्रतिनिधित्व सुनिश्चित हुने सम्भावना थियो तपाईंहरुले किन रुचि देखाउनु ?

–हो यो कुरा हामीले पनि सुनेका छौं । शुभचिन्तकहरुको एउटा हिस्साले चुनावमा गठवन्धन सँगै मिलेर वा आफैं गठवन्धनमा सामेल भएर केही सिट जितेर ठुलो संसदीय पार्टी बनिदिए जनताका र राष्ट्रका समस्याका विषयमा लडि दिने, संघर्ष गर्ने शक्ति हुने थियो भन्ने चाहना राखेर यो विषयलाई यस प्रकार उठाएको बुझिन्छ । व्यवहारिक हिसावले र एउटा कोणबाट हेर्दा यो सहि नै देखिन्छ । तर हामीले यो बाटो पक्डिदिएको भए, हामी पनि त्यही गठवन्धनमा सामेल हुन पुगेको भए, नेपालमा क्रान्तिकारी आन्दोलन अघि बढाउने, समाजमा आमूल परिवर्तन गर्ने एजेण्डा बोकेको, राष्ट्रिय स्वाधिनतालाई जोगाउने, गास, बास, कपासका समस्या, बेरोजगारीका समस्याका समाधानका लागि लड्ने कुनै पार्टी वा संगठन नै बाँकिरहने थिएन । त्यसैले हामीले त्यसलाई इन्कार गरेर गठवन्धनको विकल्पको क्रान्तिकारी शक्ति बन्ने बाटो रोजेका छौं । हामीलाई लाग्दछ, दीर्घकालिन दृष्टिले हामीले रोजेको बाटो सहि छ र चाँडै नै यो तथ्य प्रमाणित हुनेछ ।

‘अकुत सम्पत्ति त तस्कर, गुण्डा नाइके, माफिया, ठेकदार, भ्रष्टाचारी र विदेशी दलालहरुसँग नै छ । त्यसकारण, यो निर्वाचनमा गठबन्धनले यस्तै मानिसहरुलाई उमेदवार बनाएका छन् । यस प्रकारका मानिसहरुले चुनाव जितेपछि नेपालको राजनीतिमा नै यिनीहरु हावी हुने छन् । सरकारमा पनि यिनैको वर्चस्व कायम हुने छ । यो पश्चगामी संविधानले नेपाली समाजलाई दिएको उपहार हो यो ।’

तस्कर, गुण्डा नाइके, माफिया, ठेकेदार, व्यापारी, भ्रष्टाचारी हरुलाई पनि उम्मेदवार बनाएको पाइएको छ । देजमोले बनाएका उम्मेदवारहरु चाहिं के कस्ता छन् ?

–यो पश्चगामी संविधान, यो प्रतिकृयावादी राज्यव्यवस्थाको एउटा सुनियोजित योजना हो चुनावलाई यति खर्चालु बनाउने कि त्यसमा अकुत सम्पत्ती नभएका मानिसहरुको पहुँच नै नहोस् । यो कुरा सत्य हो कि अकुत सम्पत्ति त तस्कर, गुण्डा नाइके, माफिया, ठेकदार, भ्रष्टाचारी र विदेशी दलालहरुसँग नै छ । त्यसकारण, यो निर्वाचनमा गठबन्धनले यस्तै मानिसहरुलाई उमेदवार बनाएका छन् । यस प्रकारका मानिसहरुले चुनाव जितेपछि नेपालको राजनीतिमा नै यिनीहरु हावी हुने छन् । सरकारमा पनि यिनैको वर्चस्व कायम हुने छ । यो पश्चगामी संविधानले नेपाली समाजलाई दिएको उपहार हो यो । कुनै पनि सभ्य देशमा यस्तो हुँदैन । नेपालको राजनीतिक क्षेत्रमा भित्र्याइएको एउटा डरलाग्दो विकृती हो । यो विकृतीबाट नेपाली राजनीतिलाई मुक्त पार्नु अत्यन्त जरुरी छ । नेपालमा आन्दोलन गर्नु पर्ने एउटा विषय यो पनि बनेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाले बनाएका उमेदवारहरु जनताको पक्षमा उभिएका, क्रान्तिकारी आन्दोलनमा खारिएका व्यक्तिहरु नै छन् । हाम्रा उमेदवार त्यस प्रकारको विकृतिका बिरोधी छन् । कसैले एकजना पनि त्यस प्रकारका विकृतीको शिकार उमेदवार भएको पाउन सक्नेछैन, देजमोले दिएका उमेदवार भित्रबाट ।

अहिलेको व्यवस्थामा पैसा हुनेले मात्र चुनाव जित्ने पैसा छैन, उनीहरुसमेतले चुनाव लड्न नसक्ने र राजनीति गर्न नसक्ने स्थिति पैदा भयो । यस्तो परिपाटीले मुलुक कतातिर जाँदै छ ?

यस विषयमा माथि पनि चर्चा भैसकेको छ । यो कुरा सत्य हो कि ने.का., एमाले, माके, राप्रपाभित्र पनि जो अकुत सम्पत्ति आर्जन गर्न नसक्नेहरु छन्, अब तिनीहरुको राजनीतिक भविष्य देखिँदैन । तिनीहरु पनि राजनीतिलाई यो विकृतिबाट मुुक्त पार्नु पर्दछ भन्ने हाम्रो भनाईप्रति आकर्षित हुँदै गइरहेका छन् । यदि यही परिपाटी कायम रहि रह्यो भने देश रसातलतिर भासिँदै जानेछ र अन्तमा नेपाल एउटा असफल राष्ट्र बन्ने खतरा पैदा हुनेछ । त्यसैकारण हामीले यसको विरोधमा अहिले ेखि नै जनतालाई सचेत पार्दै लगेका छौं । हामीले यो विषयलाई चुनावको एउटा प्रमुख मुद्दा बनाएका छौं ।

देजमोको पछिल्लो उम्मेदवारीपछि क्रान्तिकारी माओवादी र देजमोप्रति देशी विदेशी शक्तिकेन्द्रहरुको चासो र सोधीखोजी बढेर गएको कारण के हो ?

देशभक्त जनगणतान्त्रिक मोर्चाप्रति देशी, विदेशी प्रतिकृयावादी शक्तिहरुको चासो निकै नै बढेको छ । यसको कारण के हो भने माकेले हाम्रो पार्टीलाई तहशनहश बनाउने जिम्मेवारी नै लिएको थियो भन्ने बुझिन्छ र उनीहरुले के प्रचारवाजी गरेका थिए भने अब नेकपा (क्रान्तिकारी माओवादी)को अस्तित्व नै समाप्त भै सक्यो । देशभक्त जन गणतान्त्रिक मोर्चालाई त तिनीहरुले गन्ति नै गरेका थिएनन् । तर यतिखेर नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देजमो एउटा वैकल्पिक शक्तिको रुपमा अगाडि आयो, तिनीहरु चकित भएका छन् र यसलाई ठुलो चुनौतिका रुपमा लिन थालेका छन् । दुईवटा प्रतिकृयावादी गठवन्धनले नेपालको राजनीति कब्जा गर्ने तिनीहरुको गुरुयोजना देजमोको विकासले गर्दा असफल हुने जस्तो देखेपछि तिनीहरु यसका बिरुद्ध निकै चर्को किसिमले लाग्ने संभावना बढेको छ ।

वर्तमान संसदीय व्यवस्था र नवउदारवादी अर्थतन्त्रको विकल्प जनताले खोजिरहेका छन् । त्यो विकल्प क्रान्तिकारी माओवादी तथा देजमोले दिन सक्छ ? 

–वैचारिक र राजनीतिक हिसावले हामीले त्यसको विकल्प खडा गरिसकेका छौं । तर आत्मगत वा भौतिक शक्तिका हिसाबले अहिले नै त्यसको विकल्प तयार भै सकेको छैन । हामी यतिखेर त्यसैको तयारी गरिरहेका छौ । देजमोले यो निर्वाचन उपयोग गर्नुको औचित्य पनि त्यसैमा छ । हामी अहिले शक्ति संचय गर्ने काममा अघि बढिरहेका छौं ।

स्थानीय तहको निर्वाचनपछि दैनिक उपभोग्य वस्तुमा महंगी आकासिएको छ, युवाहरु विदेशिने क्रम अझ बढेको छ, निर्वाचित प्रतिनिधिहरुले अनेकौं कर लगाएर जनतामाथि जथाभावी भार बोकाउन थालेका छन्, भ्रष्टाचार खुल्लेआम र संस्थागत रुपमा बढेर गएको छ । यी मुद्दाहरुलाई जनसहभागितासहित उठाउन किन सकिरहेको छैन देजमोले ?

–तपाईंहरुले उठाउनु भएको विषय सही हो । दलाल, नोकरशाही पुँजीपति वर्ग हावी भएको यो राजनीति र राज्यव्यवस्थाले देशमा थोपर्ने यो बोझ अब दिनदिनै थेगिनसक्नु हँदै जाने छ । यसका बिरुद्ध देजमो जनतालाई सचेत बनाउने र शक्ति संचय गर्ने काममा सकृय रुपमा लागेको छ । जनतामा अवसरवादी र प्रतिकृयावादीहरुबाट चौतर्फी रुपमा जुन भ्रम पार्ने काम भै रहेको छ, त्यसबाट जनता एकै पटक सबै कुरा बुझेर सडकमै उत्रिहाल्न सक्छन् भनेर सोच्न सकिँदैन । यसका निमित्त कठिन मेहनत गरेर जनतालाई बुझाउनु र क्रान्तिकारी आन्दोलनका लागि तयार पार्नु पर्दछ । यो काम हामीले गरिरहेका छौं ।

निर्वाचन उपयोगको कार्यनीतिलाई कार्यान्वयन गर्दै गर्दा के कस्ता चुनौती र सम्भावनाको आँकलन गर्नुभएको छ ?

–यसमा ठोस रुपमा भन्नु पर्दा दुईवटा चुनौती देखा परेका छन् ः प्रथम, पटक पटकको फुटबाट संगठनको आत्मगत शक्ति आवश्यकताको तुलनामा कमजोर हुनु । दोस्रो, सबैतिरको घेराबन्दीका कारण सबै संगठन र आन्दोलनको व्यवस्थापनका लागि आर्थिक पक्ष कमजोर हुनु । जहाँ सम्म संभावनाको कुरा छ, त्यो त धेरै राम्रो छ । खासगरी माकेको एमालेमा विलयको प्रकृया अन्तिमतिर जाँदै गर्दा हामी नै एकमात्र क्रान्तिकारी विकल्पको रुपमा स्थापित हुँदै गएका छौं । नेपालमा क्रान्तिकारी परिवर्तनको आवश्यकता दिनदिनै सावित हुँदै जाने छ । त्यसको निमित्त लड्ने एकमात्र शक्तिका रुपमा स्थापित हुन पाउनु हाम्रो लागि सबै भन्दा ठुलो अवसर हो ।

निर्वाचन उपयोगलाई लडाइँको अर्को मोर्चाको रुपमा बुझ्दै तमाम समस्याहरुलाई चिरेर उम्मेदवारी दिने उम्मेदवारहरुलाई के भन्नुहुन्छ ?

–माथि उल्लेख भैसकेको छ कि नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जन गणतान्त्रिक मोर्चाले निर्वाचनमा यति ठुलो मात्रामा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने धेरैले कल्पना गरेका थिएनन् । अन्य पार्टीहरुमा अराजकता यति धेरै व्यापक भएको अवस्थामा देजमो माथिदेखि तलसम्म यति अनुशासित, संगठित र सुदृढ भएर आउला भन्ने मानिसलाई लागेको थिएन । त्यो कुरा हामीले व्यवहारमा देखाएका छौं । यसप्रकारको प्रतिकुल अवस्थामा पनि हरेक प्रकारका चुनौतीको सामना गर्दै देजमोका साथीहरुले जुन उमेदवारी दिनु भएको छ, त्यसले त हामीले एउटा उदाहरण नै प्रस्तुत गरेका छौं भन्ने लाग्दछ । यसले देजमोको मात्र होइन नेपाली क्रान्तिको भविष्य पनि उज्ज्वल छ भन्ने दर्शाउँछ ।

‘यतिखेर केही उत्साह, केही गतिशिलता देखा पर्दै गएको छ, केही अनुकुलता देखा परेको छ । नेपाली समाजमा छाएको अन्यौलको तुवाँलो विस्तारै फाट्दै गएको छ । नेपालमा क्रान्तिका लागि वस्तुगत पक्ष एकदमै परिपक्व देखिन्छ ।’

अन्तमा, अहिले धेरै विषयमा चासो र जिज्ञासाको बीचमा रहेको देजमोको केन्द्रीय अध्यक्षको हैसियतले आमूल परिवर्तनका पक्षधर आम जनसमुदायमा के आव्हान गर्न चाहनुहुन्छ ?

देशभक्त जनगणतान्त्रिक मोर्चाले असाध्यै प्रतिकुल अवस्थामा काम गर्नु प¥यो । अनुकुलता कतै देख्दै नदेख्दा, जतासुकै पलायन, विचलन, राजनीतिक अनैतिकता देखेर त्यसबाट जसरी निरासा पैदा भएको थियो, त्यो अहिले विस्तारै चिर्ने काम भएको छ । यतिखेर केही उत्साह, केही गतिशिलता देखा पर्दै गएको छ, केही अनुकुलता देखा परेको छ । नेपाली समाजमा छाएको अन्यौलको तुवाँलो विस्तारै फाट्दै गएको छ । नेपालमा क्रान्तिका लागि वस्तुगत पक्ष एकदमै परिपक्व देखिन्छ । आत्मगत पक्षलाई बलियो पार्ने काममा जसरी हामी लागिरहेका छौं, त्यसले क्रान्तिकारी पंक्तिलाई केही उत्साहित त बनाएको छ । तर क्रान्तिकारी आन्दोलन नै उठाउनका लागि यतिमात्र पर्याप्त हुँदैन । त्यसका निमित्त आमूल परिवर्तनका पक्षधर जनसमुदायसँग ढुक्क भएर हाम्रा कार्यक्रममा सहभागी हुने र नेपालमा आगामी दिनमा क्रान्तिकारी आन्दोलनको आँधिबेहरी सृष्टि गर्ने काममा सकृय रुपमा अगाडि बढ्नका लागि आह्वान गर्न चाहन्छु ।