संयुक्त राष्ट्रसंघमा अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाबारे बोलाएको एक अनौपचारिक बैठक चीन, रुस, इजिप्ट र बोलिभियाले बहिष्कार गरेका छन् । उनीहरुले अमेरिकी प्रयास भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप हुने भन्दै बैठक बहिष्कार गरेका हुन् ।
‘यो मुद्दा भनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरा हो,’ संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले भने । बैठकमा सहभागी भए पनि उरुग्वेका उपराजदूत लुइस बर्मुडेजले भेनेजुएलाको स्थिति अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा नरहेको बताए ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो उद्देश्य कसैको अपमान गर्ने नभएको स्पष्टीकरण दिएकी छन् । भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोविरुद्ध १०० दिनभन्दा लामो समय चलेको आन्दोलन अहिले शिथिल बनेको छ । आन्दोलनमा त्यहाँ दर्जनौँ मानिसहरुको मृत्यु भएको थियो भने अर्थतन्त्रमा गम्भीर असर परेको छ । एजेन्सी