काठमाण्डौ, २८ कार्तिक । इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी) ले केही समयअघि एउटा सूची निकालेको थियो । त्यसमा सर्वा्धिक घृणा गरिएका ५४ सेलेब्रिटीका नाम क्रमैसँग उल्लेख गरिएका थिए । पहिलो नम्बरमा गायक जस्टिन बिबर, दोस्रोमा कान्य वेस्ट, तेस्रोमा मोडल किम कार्द्सियन, चौथोमा अभिनेता सिया लाबुफ र पाँचौंमा अमेरिकन आइडलका जज साइमन कोवेल परेका थिए ।
त्यही सूचीमा माइली साइरस, क्रिस ब्राउन, क्रिस्टिन स्टेवार्ट, लिन्ड्से लोहान, क्रिस जेनर, रोबर्ट प्याटिसन, टेलर स्विफ्ट, जेडन स्मिथ र जुलिया रोबर्ट टप २० भित्र देखिए । ‘माइलीले नानाभाँती व्यहोरा देखाउन थालेपछि उनीप्रति वैरभाव राख्नेहरू जन्मिएका हुन्,’ आईएमडीबीले लेखेको छ, ‘क्रिस त वुमेन बिटर भइहाले ।’
रिहानासँगको सम्बन्धपछि क्रिस कुख्यात बनेका थिए ।
ड्रंक एन्ड ड्राइभ, सप लिफटिङ (पसलको सामान चोर्नु) र ड्रग्सको केसमा जेलसमेत परेपछि लिन्ड्सेले आफ्ना प्रशंसक गुमाएकी थिइन् । अभिनेता विल स्मिथका पुत्र जेडन आफ्नै गतिविधिले घृणाको पात्र बने । उनका ट्वीटहरू निकै विवादास्पद हुने गरेका छन् । ‘ऊ बाबुजत्तिको स्मार्ट रहेनछ,’ आईएमडीबीले लेखेको छ, ‘यो बच्चालाई के भएको होला ?’
फिफ्टी फोर लिस्टमा पप क्विन म्याडोना २९ औं नम्बरमा परेकी छन् भने लेडी गागा ३२ औं स्थानमा । ‘मोस्ट हेटेड सेलेब्रिटज अफ अल टाइम’ को सूचीमा एन्जेलिना जोलीको नाम ३५ औं नम्बरमा देखिँदा गायक जोन मेयर ४० औं स्थानमा थिए । अभिनेत्री निकोल किडम्यान ४६ औं, जेनिफर एनिस्टोन ५१ औं र अनिभेता एस्टन कुचेर ५४ औं नम्बरमा परेको पाइयो । कार्द्सियन परिवारका किम, ख्लोई, रब र कर्टी गरी चार सदस्य हेटेस्टको सूचीमा देखिए ।
द टप टेन डटकमले पनि ‘सर्वा्धिक घृणा गरिएका सेलेब्रिटी’ को तालिका निकालेको छ । त्यसमा जस्टिन नै एक नम्बरमा छन् । त्यसले लेखेको छ, ‘गाँजा खाने, छिमेकीलाई दुस्ख दिने, कम उमेरमै मद्यपान गर्ने बानीले जस्टिनको छवि बिगारेको छ ।’ किम र कान्य दम्पतीलाई मन नपराउनेहरू थुप्रै छन् । यसको सूचीमा पेरिस हिल्टन, निकी मिनाज, रेबेका ब्ल्याक र ग्वेनेथ पाल्ट्रो परेका छन् ।
‘शाकाहारी अभियान चलाएकी किम आफैं मासु खाइरहेकी भेटिइन्,’ वेबसाइटमा लेखिएको छ, ‘यो त शाकाहारी समुदायमाथि छुरा प्रहार गरेजस्तो भएन र ?’ कान्तिपुरबाट साभार