कांग्रेसले प्रचार–प्रसारलाई व्यवस्थित र आक्रामक बनाउँदै

780
views

काठमाडौं, ३० कार्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रचार–प्रसारलाई व्यवस्थित र आक्रामक बनाएको छ । घोषणापत्र, झन्डा, पार्टी सभापतिको अपिल परम्परागत शैलीमै सबै निर्वाचन क्षेत्रसम्म पु¥याए पनि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भिडियो सेयरिङ साइट, युट्युबसहितको प्रयोग भने आक्रामक बनाएको छ । सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिबद्धता, नीति, सिद्धान्त र कार्यक्रमलाई उम्मेदवारले मतदातासम्म पु¥याइरहेका छन् । कांग्रेसले ‘नेपाली कांग्रेसको सरकार, लोकतन्त्र, राष्ट्रियता, एकता र समृद्धिका आधार’, ‘सबैको जित, सबैको हित, नेपाली कांग्रेसको दृष्टि उच्च र दिगो आर्थिक वृद्धि’ सहितका चुनावी नारा अघि सारेको छ ।


कस्ता छन् प्रचार सामग्री ?
कांग्रेसले ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा तीन हजारका दरले रूख र चारतारे झन्डा, हरेक प्रदेशमा पाँच हजारका दरले घोषणापत्र र एउटा प्रदेशमा १५ हजारका दरले पार्टी सभापतिको अपिल पठाएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए ।
उम्मेदवारका आफ्नै घोषणापत्र
कांग्रेसले केन्द्रमा समग्र घोषणापत्र ल्याए पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो क्षेत्रका लागि छुट्टै घोषणापत्र पनि ल्याउन पाउनेछन् । उम्मेदवारहरु स्थानीय आवश्यकतालाई समेट्दै घोषणापत्र तयार गरेर मतदातासमक्ष पुगिरहेका छन् । जिल्लामा उठेका उम्मेदवारले आफैँ घोषणापत्र ल्याउन पाउनुका साथै झन्डा छाप्न सक्नेछन् ।
प्रतिउम्मेदवार एक लाख खर्च
कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका प्रतिउम्मेदवार एक लाख रुपैयाँका दरले निर्वाचन खर्च दिएको छ । केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार बाटो खर्च भनेर उम्मेदवारलाई एक–एक लाख खर्च दिइएको हो । आजको नयाँपत्रिका दैनिकबाट