सांसदको कुर्सी व्यवस्थापनलाई ३ करोड

839
views

काठमाण्डौ, १ मंसिर । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ ।

संसद् सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रका दुई वटा हलको सामान्य पुनस्संरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ। ‘सबै कुर्सी फेर्न त समयले पनि भ्याइँदैन,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘प्रतिनिधिसभाको बैठक कक्ष (संविधानसभा बैठक बसेको मुख्य हल) मा बढी हुने कुर्सी हटाएर बाँकी मर्मत गर्ने, खोल फेर्ने, राष्ट्रिय सभाको बैठक कक्ष र अत्यावश्यक कार्यालय निर्माणका लागि अर्थसँग रकम माग गरिएको हो ।’

सभा कक्षको मुख्य हलमा संविधानसभा र व्यवस्थापिका संसदका ६०१ सदस्यका लागि कुर्सी र माइक जडान गरिएका छन्। प्रतिनिधिसभा बैठक कक्षका रूपमा पुनस्संरचना गर्न लागिएको उक्त कक्षमा दुवै सदनको संयुक्त बैठक बस्नसमेत पुग्ने गरी ३३४ कुर्सी राख्न खोजिएको छ। सचिवालयले कुर्सीको संख्या घटाउँदा निस्कने फराकिलो ठाउँको सजावट र कुर्सी ढाकिएका सेता खोललाई हरियोले प्रतिस्थापन गर्न मात्रै ठूलो रकम खर्चिन लागेको हो । अधिकांश कुर्सी मर्मत गर्नुपर्ने अवस्थामा रहेको दाबी गर्दै सचिवालयका अधिकारीहरूले राष्ट्रिय सभाको बैठक कक्ष निर्माणले खर्चको सिलिङ बढी देखिएको बताए ।

‘यो सामान्य अनुमानित रकम हो,’ प्रवक्ता गौतमले भने, ‘संविधानसभाको कार्यकालदेखि नै एकसदनात्मक संसद् चलेका कारण राष्ट्रिय सभाका लागि सम्पूर्ण संरचनाको तयारी आवश्यक छ।’ उनका अनुसार सम्मेलन केन्द्रकै नुप्से हल पुनस्संरचना गरी राष्ट्रिय सभाको बैठक कक्ष तयार गरिनेछ। शान्ति प्रक्रियाको सुरुमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ९अनमिन० ले आफ्नो कार्यालय प्रयोजनका लागि सम्मेलन केन्द्रमा थुप्रै अस्थायी संरचना निर्माण गरेको थियो । ठूला हललाई आल्मुनियमले बारबेर गरी तयार गरेका कार्यकक्षहरू संसद्ले प्रयोग गरिरहेको छ।
आजको कान्तिपुर दैनिकबाट