राजतन्त्रको बहिर्गमन, गणतन्त्रको आगमनको प्रतीक गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुल्ला गरिने

912
views

काठमाण्डौ, ५ मंसिर । नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबारभित्र ३५ रोपनी जग्गामा निर्माणाधीन गणतन्त्र स्मारकको उद्घाटन अगामी वर्षको गणतन्त्र दिवस (२०७५ जेठ १५) का दिन गर्ने रसर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभएको छ ।

स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । तर सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको थियो ।

जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रुपमा निर्माणाधीन गणतन्त्र स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उपमहानिर्देशक गेलालले निर्माण भइसकेका संरचनाहरूको रङ–रोगन, तिनीहरूको सञ्चालनको तयारी तथा डेकोरेसन कार्य भइरहेको जानकारी दिनुभयो ।

‘नारायणहिटी दरबारले करिब अढाई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको प्रतिनिधित्व गर्छ, अब दरबार परिसरमा निर्माण भएको गणतन्त्र स्मारक ११ वर्षदेखि मुलुकमा चलिरहेको जनताको शासनको प्रतीक हो”, उपमहानिर्देशक गेलालले भन्नुभयो

‘स्मारकभित्र हिमाल, पहाड र तराई झल्किने गरी ठूलो नक्सा निर्माण गरिएको छ, मुलुकमा गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृतिहरू राखिनेछन् ।’ तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ सालमा यो स्मारकको शिलान्यास गर्नुभएको थियो ।