रोहिंग्याविरुद्ध म्यानमार सरकारले विभेद गरेको आरोप

सेनाले जातीय सफायाको नीति लिएपछि रोहिंग्या देश छोडेर भाग्न बाध्य

831
views

याङ्गोन । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।


हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो। उनीहरु हाल बङ्गलादेशमा शरण लिएर बसेका छन् ।
उक्त समुदायमाथि म्यानकारको सैनिकले आक्रमण गर्दा उनीहरु भाग्नुपरेको थियो । उक्त समुदायले नै सशस्त्र समूह खडागरी यहाँका स्थानीय प्रहरी चौकीहरुमा आक्रमण गरेपछि सेनाले गरेको कारबाहीपछि उनीहरु भागेका सेनाको दाबी छ ।
म्यानमरको उत्तरी राखिन राज्यका रोहिङ्गा समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा गएको अगष्ट २५ मा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि नै आक्रमण थालेको थियो ।
त्यहाँको सेनाले जातीय सफायाको नीति लिएपछि उनीहरु देश छोडेर भाग्न बाध्य भएको उक्त मानवअधिकारवादी संस्थाको आरोप रहेको छ । उनीहरु छिमेकी देश बङ्गलादेशमा आन्तरिक शरणार्थीका रुपमा बसिरहेका छन् । यो आरोप मान्न यहाँको सेना भने तयार छैन । म्यानमारका सेना प्रमुखले भने उनीहरुलाई सरकारले लखेटेको नभई आफै भागेका अडान राख्दै आएका छन् ।
यसरी देश छोडेर भागी बङ्गलादेश पुग्नेहरुको संख्या छ लाख भन्दा पनि बढी पुगेको बताइएको छ । अहिले पनि म्यानमारको सीमा क्षेत्रबाट बङ्गलादेश छिर्ने क्रम जारी नै रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ता फराह हकले हालै दिएको जानकारीअनुसार अहिले पनि म्यानमारको उत्तरी राखिन राज्यबाट भागेर बङ्गलादेश छिर्ने क्रम रोकिएको छैन ।
संयुक्त राष्ट्रसंघले यसलाई एक हिसाबले जातीय सफायाको रुपमा उनीहरुमाथि ज्यादति गरिएको भन्दै आवश्यक छानबीन र दोषीमाथि कारबाही हुनुपर्ने धारणा राख्दै आएको छ ।
एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको १०० पृष्ठ लामो प्रतिवेदनमा रोहिङ्गा जातीय समुदायलाई म्यानमारमा विगत लामो समयदेखि नै राज्यले विभेद गर्दै आएको र त्यसका विरुद्धमा उनीहरुले पनि सशस्त्र संगठन खोलेको पनि उल्लेख छ ।