एक करोड डलर मूल्य तोकिएका नेता रिहा

1001
views

मंसिर ८ गते । अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १ सय ६० जना भन्दा बढी मारिने गरी भारतको मुम्बइ शहरमा भएका श्रृखंलाबद्ध आक्रमण सहितका उग्रवादी गतिविधिको योजना बुनेको आरोप सइदमाथि लगाउँदै आएका छन् ।

उनले नेतृत्व गरेको एउटा प्रतिबन्धित संस्था जमात उद दावाले उनको रिहाई लगत्तै एउटा भिडियो सार्वजनिक गरेको छ जसमा सइदले भारतले लगाएको आरोप गलत भएको बताएका छन् । उनले भारत प्रशासित कश्मिरको स्वतन्त्रताका लागि पाकिस्तानी नागरिकहरुलाई साथ दिने प्रतिबद्धता पनि जनाएका छन् ।
यसै हप्ता पाकिस्तानी अदालतले सइद सार्वजनिक सुरक्षाका लागि जोखिम रहेको भन्ने सरकारी तर्कलाई अस्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो ।

मुम्बइमा सन् २००८ मा बन्दुकधारीहरुले गराएका योजनाबद्ध आक्रमणमा १६० जना भन्दा बढीको मृत्यु भएको थियो । सो हमलामा आफ्नो संलग्नता नरहेको उनले बताउने गरेका छन् । ती धार्मिक नेतालाई उत्तरपूर्वी पाकिस्तामा अवस्थित लहोरमा बिहीबार साँझ रिहा गरिएको थियो ।

रिहाइ लगत्तै दिएको भिडियो सन्देशमा उनले भनेका छन्, भारतले सधैँ आतंकवादीको आरोप लगाएपनि उच्च अदालतको आदेशले भारतीय प्रचार झुट्टो रहेको पुष्टि गरेको छ ।

सइदलाई घरमै नजरबन्दमा राख्ने ज्यानुअरीमा लिइएको निर्णयलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवादसँग निकट सम्बन्ध राख्ने देशहरुविरुद्ध जनाएका प्रतिक्रियाको परिणाम ठानिन्छ । सइदले सन् १९९० को दशकमा पाकिस्तान मुख्यालय रहेको लस्कर ए तायबा उग्रवादी समूहको गठन गरेका थिए । तर त्यसविरुद्ध प्रतिबन्ध लगाइएपछि उनले एउटा पुरानो संगठन जमात उद दावा अर्थात जेयुडीलाई सन् २००२ मा पुनर्गठन गरेका थिए ।

सइदले जयुडी इस्लामवादी परोपकारी संस्था भएको बताउने गरेका छन् । तर, अमेरिकाले त्यो लस्कर ए तायबाको एउटा मोर्चा भएको बताउँदै आएको छ ।

तनाव
भारतले आफ्नो भूमिमा भएका कैयौं उग्रवादी हमलामा सइद र उनको संगठन संलग्न रहेको आरोप लगाउने गरेको छ । तर पाकिस्तानले उनीविरुद्ध अभियोग लगाउने आधार सहितका प्रमाण नभेटिएको बताउने गरेको छ । सन् २००१ मा भारतीय संसदमा गरिएको हमलामा लस्कर ए तायबालाई आरोपित गरिएपछि उनलाई तीन महिना थुनामा राखिएको थियो । सन् २००६ को अगष्टमा पनि अरु देशहरुसँगको सम्बन्ध बिग्राने गतिविधिमा संलग्न रहेको आरोपमा उनी केही महिना जेलमा बसेका थिए । विविसी