भाग–२
लेखक – राजकुमार श्रेष्ठ
हिमालयको काखमा रहेको मेरो प्यारो देश नेपाल, हिउँदको दिनमा सेताम्य भएर टललल टल्किरहने हिमालको त्यो उज्यालो मुहार सजिलै देख्न सकिन्छ जुन मेरो देशको गहना हो । अर्को शब्दमा भन्नुपर्दा हिमाल हाम्रो देशको स्वाभिमान, इज्जत र सम्पती हो ।
सगरमाथा एक मात्र बिश्वको सर्बोच्च शिखर हो । यसको उचाइ आठ हजार आठसय अड्चालिस मीटर छ । सगरमाथा देखि बाहेक अरुपनि केही होचा हिमालहरु शृङखलाबद्ध रुपमा अवस्थित छन । तिनीहरु मध्ये मकालु, अन्नपूर्ण, गौरीशंकर, धौलागिरी, माछापुच्छ्रे हिमाल आदि हुन । हिमाली क्षेत्रबाट हिउँ पग्लेर सयौ नदि, नालाहरुको रुप भई अबिरल रुपमा सललल बगेका छन । तराइका फाँटहरु देखि लिएर समुन्द्रमा पुगेर मिसिएका छन् ।
हिमाली क्षेत्रदेखि तल्लो भागमा पनि धेरै पहाडहरु अबस्थित छन । प्रकृतिले उपहार स्वरूप दिएका डाँडापाखा, भिरपखेरा, झर, झरनाहरु र सुन्दर हरियाली बन जङगलहरुले सजिएको मेरो प्यारो देश नेपाल । तिनै पहाडका उच्च स्थानहरूबाट मूल फुटेर झरनाको रुप भइ झरझर झर्दै बग्ने पानीको आवाज सुनीरहने मनको रहर कसलाइ पो हुँदैन होला र ? अझ मूल फुटेर पलाएका जरुवा पानीे पिउँदा त झनै मज्जाले भोक, तिर्खाको धित मेटिन्छ ।
त्यो बनजङ्गलमा फुल्ने बुकी फूल, लालुपाते, चम्पा, चमेली र भिरपाखाहरुमा फुल्ने सुनाखरी, सुनगाभा, लालीगुराँस जस्ता फूलहरु ढकमक्क फूलेर बनैभरी उज्यालो भएको देख्न पाइन्छ । ती फूलका हाँगाको डाली डाली बिचमा रमाएर फुल्ने फूलहरु, र ती फुलेका फूलहरुले दिने मीठो, सुगन्धित बासनाहरुमा झुमेर अङगालो हाल्दै, चुम्बन गर्दै फूलहरुको रस चोर्दै खादै, खेल्दै नाचीरहने भमरा र पुतलीहरु पनि प्रशस्त देख्न पाइन्छ ।
अझ बनजङललाई नै मुख्य आश्रय बनाएर बस्ने चराचुरुङगी र पशु प्राणीहरु जस्तैः कोइली, जुरेली, कालिज, मुनाल, मयुर, डाँफे र काफल पाक्यो चरीहरु हुन् । तिनीहरुले प्रकृतिको प्रत्येक ऋतुहरुलाई आ–आफ्नै आवाजले बोलाएर स्वागत गरिरहेका हुन्छन् । मिरमिरे बिहानी र गोधुली साझमा आ–आफ्नै लय र भाका निकालेर गीत गाउँछन, जुन आवाजले रन बन नै गुन्जयमान बनाइ दिन्छ । चराहरुको चिर वीरको ताना र गानाले आकर्षित भएको मनमा खुशी र प्रसन्नताले यति धेरै आनन्दित र उत्साहित तुल्याईदिन्छ जुन मन, मुटुमा लागेका घाउहरुको दुखाई पनि कम भएको आभाष गराउँदछ ।
तिनै फुल्ने फूलहरुको चम्किलो मुस्कुराहट सँगसँगै सदाबहार मुस्कुराउदै हाँसिरहने मेरो प्यारो देश नेपाल । आज तीनै हसिलो मुस्कानहरु बन्द भएका छन । न्याय र अन्याय छुट्याइ हेर्ने स्वयम्भूको दुई आँखाहरु बन्द हुन खोजिरहेका छन् । हो, आज साँच्चै नेपाल आमाले नेपाली माटोमा सत्य, शान्ति, प्रेम, सामाजिक बिश्वास र मानवीय सद्भाव गुमाएको जस्तो गरि रोइरहेको छ ।
त्यो, बन जङगलमा फुलेका फूल र पातहरु सँगसँगै शीत बनेर आकाशको जुनतारा पनि धरतीमा सुटुक्क आएर रातैभरी लुकामारी खेल्छन । त्यति मात्रै कहाँ हो र ? चराचुरुङ्गीहरुको चिर वीरले गुन्जिएको आवाज सगसगै रमाउन र झरनाको पानीले बनाएको छङ छङ गर्ने आवाज सगसगै भलाकुसारी गर्न लालायित र मोहित हुन्छ्न । यसरी त्यो क्षणको आनन्दीपन र स्वर्गीय अनुभुती मेरो मातृभूमि नेपालमा बाहेक अरु कुन देशसँग पाउन सक्छु र ?
हो, त्यसैले त म गर्वका साथ भन्न सक्छु मेरो देशको गौरब त्यहाँनेर छ जहाँ, स्वर्गीय अनुभुति लिन सकिन्छ, त्यो हो मेरो देशको प्राकृतिक वातावरण । जहाँ हिमाली चिसो हावा बहदै खेलिरहेको रहेको छ । जुन हिमाली चिसो हावाले मान्छेको मन, मस्तिष्कमा बेग्लै किसिमले डेरा जमाईरहेको हुन्छ, त्यहाँ स्वच्छ नेपालीपन छ भनेर बिश्वास गर्न सकिन्छ । एक नेपाली, बिश्वको जहाँ जुनसुकै देशमा रोजि रोटीको लागि गएपनि नेपाली मनले हिमाली देशलाई नबिर्सनु एउटा नेपालीको बिशेषता र स्वाभिमान हो ।
स्वर्गलाइ लोभ्याउने मेरो देशको हिमाल, यो धरतीको गहना हो । यस्तो स्वर्गीय अनुभुती दिने हाम्रो देशको सुन्दर प्राकृतिक वातावरणमा रमाउने मन कुन आत्मीय मनलाई नहोला र ? हो प्रकृतिको सौन्दर्यसँग रमाउन विश्वभरीका देशबाट बर्सेनी पर्यटकहरूको ओइरो लाग्ने गर्दछ । तर हिजोआज देशमा बढ्दै गइरहेको अराजकता, अपरहण नेपाल बन्द राजनीति द्वन्दको कारण बर्सेनी पर्यटक भित्रिनेक्रम घट्दो छ । साथै राजनीतिक अस्थिरता र महङगीको कारण लाखौंलाख नेपाली जनताहरु वैदेशिक रोजगारी गर्न बाध्य हुनुपरेको छ ।
देशमा यति धेरै प्राकृतिक सम्पदा हँुदाहुँदै पनि कतिपय ठाउँहरुमा उचित संरक्षण र ब्यवस्थापन हुन नसक्दा पर्यटकिय स्थलहरुको बिकास हुन सकिरहेको छैन । पर्यटकिय क्षेत्र हुने संभावना धेरै भएका यस्ता ठाउँहरुलाइ अझै पनि राम्रोसँग दिगो बिकास, संरक्षण र सम्बर्द्धन गर्नसके स्वर्ग खोज्न हामी अन्त कँहि जान पर्दैन । राज्य पक्षबाट अझै देशमा रहेको जल शक्तिको बिकास र प्रर्बद्धन, विद्युत आपूर्ति, खनिज पदार्थको उत्खनन् र जडिबुटीको उत्पादन उचित रुपले ब्यवस्थित गरिएमा नेपाली जनताले काम गर्न वैदेशिक रोजगारमा गइरहनु पर्दैन । त्यसैले भन्न सकिन्छ कि म स्वर्ग त्यहाँ पाउँछु जहाँ मेरो देश छ, जहाँ सुन्दर पर्यटकिय क्षेत्र र रोजगारका प्रशस्त सम्भावनाहरु छन ।