जमिनमा मतदान, आकाशमा हवाई गस्ती

606
views

पहिलो चरणको निर्वाचनका दिन नेपाली सेनाले दिनभरि हवाई गस्ती गर्ने भएको छ । हवाई गस्तीका लागि राजधानी काठमाडौं सहित नेपाली सेनाका सातवटै पृतनाहरुमा जहाज र हेलिकोप्टरहरु तैनाथ गरिएका छन् ।

जस अनुसार प्रदेश–१ अन्तर्गत इटहरीमा एक एमआई–१७ हेलिकोप्टर तैनाथ गरिएको छ । प्रदेश–३ का लागि हेटौंडामा एउटा हेलिकोप्टर छुट्ट्याइएको छ । प्रदेश–४ का लागि एक एक्युरल हेलिकोप्टर पोखरा पुगेको छ । बुटवलमा पनि अर्काे एक हेलिकोप्टर तयारी अवस्थामा छ । सुर्खेतका लागि एमआई–१७ हवाई गस्तीका लागि तयारी अवस्थामा छ । दिपायलका लागि एक वेल हेलिकोप्टर पठाइएको छ ।

नेपाली सेनासँग १४ वटा हेलिकोप्टर र जहाज चालू अवस्थामा छन् । हवाई गस्तीका लागि राजधानीबाहिरका पृतनामा ७ वटा हेलिकोप्टर पठाएको सेनाले काठमाडौंमा रहेका बाँकी ७ जहाज र हेलिकोप्टरहरुलाई पनि हवाई गस्तीका लागि प्रयोग गर्नेछ ।

निर्वाचन बिथोल्न क्रियाकलाप नहोस् भन्ने उद्देश्यले सेनाले दिनभरि हवाई गस्तीको योजना बनाएको हो । त्यसबाहेक कुनै घटना भयो भने आवस्यकता बमोजिम तत्काल फौज उतार्नका लागि पनि ती हेलिकोप्टर प्रयोग हुनेछन् । प्रदेश–२ मा भने पहिलो चरणमा निर्वाचन नहुने भएकाले त्यहाँ हेलिकोप्टर व्यवस्था गरिएको छैन ।