आज ३२ जिल्लामा निर्वाचन

679
views

मंसिर १० गते । ३२ जिल्लामा आज विहानै देखी उत्साहपूर्ण रुपमा मतदान भैरहेको छ । ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान जारी छ ।
पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान सुरु भएको हो । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ । संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन्। जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ ।

यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन्। प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन् । प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ ।

पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा, प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन भएको हो ।