चीनको बीआरआईमा समावेश गर्न नेपालमा तीन ठूला परियोजनाबारे छलफल

856
views

काठमाण्डौ, ११ मंसिर । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत कार्यान्वयनका लागि नेपालले सम्भावित तीन ठूला परियोजनाबारे छलफल सुरु गरेको छ ।

बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) का लागि नेपालको सम्भावित परियोजनाबारे अर्थमन्त्रालयमा आइतबार छलफल भएको छ । बैठकमा नेपाली अधिकारीहरुले बीआरआईका लागि चीनको केरुङदेखि काठमाडौँ र काठमाडौँदेखि पोखरा हुँदै लुम्बिनीसम्म पुर्याइने भनिएको रेल परियोजान, केरुङ–गल्छी विद्युत प्रसारण लाइन र सुनसरी–मरिन डाइभर्सन सिँचाई परियोजना गरी तीन परियोजना छुट्टयाउनेबारे छलफल गरेका छन्।

केही महिनाअघि नेपाल र चीनबीच हस्ताक्षर भएको ओबीओआर सम्झौता कार्यान्वयन गर्न बनेको आयोजना विकास र सहजीकरण समितिको उक्त बैठकमा अर्थ, भौतिक विकास तथा याताया, उर्जा, सिँचाई, सहरी विकास, कृषि तथा पर्यटन मन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।

तर, अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डेले बीआरआई अन्तर्गत कार्यान्वयनका लागि ती परियोजामाथि छलफल भए पनि अन्तिम टुंगो लागि नसकेको बताए । ‘हामीले ओबीओआर परियोजना अन्तर्गत कार्यान्वयन गर्नका लागि ती परियोजनाबारे छलफल गरेका हौं,’ चिनियाँ समाचार संस्था सिन्ह्वासँग पाण्डेले भनेका छन, ‘यद्यपी हामीले अन्तिम टुंगो भने अझै लगाएका छैनौं ।’

बैठकमा अर्थ सचिव शंकरप्रसाद अधिकारीले अन्य मन्त्रालयका अधिकारीहरुलाई पाँच दिनभित्र कार्यान्वयन योग्य परियोजना ल्याउन आग्रह गरेका थिए ।

‘देशको राष्ट्रिय प्राथमिकता र आवश्यकताका आधारमा अर्थमन्त्रालयले चीन सरकारलाई ती परियोजना प्रस्ताव गर्ने सहमति अधिकारीहरुबीच भयो,’ अर्थमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार ज्ञानचन्द्र आचार्यले कनेक्टिभीटिसँगै प्रतिफल दिने खालका परियोजना सिफारिस गर्न आग्रह गरेका थिए ।

गत १५ अगस्टको मन्त्री परिषद् बैठकले बीआरआई अन्तर्गत जलासययुक्त विद्युत आयोजना र प्रसारण लाइनमा चिनियाँ सहमति खोज्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । नेपाल खवरबाट