मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि १ करोड २२ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको हो ।
चुनावका लागि आवश्यक परिमाणमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप लगायतका मतदान केन्द्रमा प्रयोग हुने ४७ प्रकारका सामाग्रीहरु जिल्ला पठाइसकिएको र कागज, खाम, डोरी लगायत १७ प्रकारका सामाग्री स्थानीयस्तरमै खरिद गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मंसिर २१ गतेको चुनावपछि मात्रै एकैचोटी दुवै चरणमा भएका मतदानको मतगणना गरिनेछ । जसका कारण दोस्रो चरणको चुनावसम्म मतपेटिकाहरु सुरक्षित रुपमा राख्नु नै निर्वाचन आयोगका लागि ठूलो चुनौती रहेको देखिन्छ ।
निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खासगरी भारतसँगको सीमाक्षेत्रमा सुरक्षा चुनौती रहेको बताउँदै त्यसबारे दुवै देशका सुरक्षा निकाय गृहकार्यमा जुटेको बताएको छ । पहिलो चरणमा भौगोलिक विकटता र मौसमी प्रतिकूलताको चुनौती बेहोरेको उसले जनाएको छ ।