तरकारीको आम्दानी वार्षिक १० लाख,भारतको तरकारी विस्थापित

1022
views

नेपालगञ्ज, ११, मङ्सिर । कुँवर बब्बन सिंहले तरकारी बाटै बार्षिक १० लाख आम्दानी गर्न सफल हुनुभएको छन् । राजनीतिसँगै तरकारी खेतीमा लाग्नुभएका सिंहले गत ३ वर्षदेखि आफ्नै जग्गामा तरकारी खेती गर्दै आउनुभएको हो ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका नेता तथा तत्कालीन जिल्ला विकास समिति, बाँकेका पूर्व उपसभापति सिंह नेपालगञ्ज उपमहानगरको परसपुरमा छ बिघा जमिनमा तरकारी खेती गरिरहनुभएको छ ।

वर्षमा ३० देखि ४० लाखको तरकारी बिक्री गरेर उहाँले करिब १० लाख रुपियाँ नाफा भइरहेको सिंहले बताउनुभयो । मैले उत्पादन गरेको तरकारी नेपालगञ्ज, कोहलपुर, जुम्ला, दाङ, सुर्खेतसम्म पुग्छ, नेता सिंहले थप्नुभयोे, उत्पादन गर्न सक्ने हो भने तरकारी खेतीमा धेरै नाफा छ । उहाँको खेतीबाट मात्र दैनिक पाँच क्विन्टल तरकारी बजार जाने गर्छ ।

तरकारी खेतीबाट दैनिक १५ जनाभन्दा बढीलाई रोजगारी दिँदै आएको उहाँले बताउनुभयो । उहाँले राजनीति जस्तो तरकारी खेतीमा जालझेल र खु्ट्टा तानातान नरहेको पनि बताउनुभयो ।

वार्षिक ४० लाख सम्मको तरकारी बिक्री गर्ने यस क्षेत्रकै ठूला तरकारी किसान सिंहले आफूले तरकारी खेती सुरु गरेपछि भारतीय तरकारी विस्थापित भएको पनि बताउनुभयो
भारतको तरकारी विस्थापित गर्न सरकारले तरकारी खेतीमा लागेका नेपाली किसानलाई हर प्रकारको सहयोग र सहुलियत दिनुपर्ने सिंहको माग छ ।

हाल बाँकेमा पाँच हजार एक ८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको र सो बर्से्नि बढ्दैगएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । हिउँदमा एक हजार नौ सय ४८ हेक्टरमा, वर्षायाममा एक हजार छ सय हेक्टर र गर्मीयाममा एक हजार ६३८ हेक्टरमा तरकारी खेती हँुदैआएको सो कार्यालयले जनाएको छ ।