गोरखामा मतपेटिका राखेको कोठामा तीन ओटा ताल्चा

720
views

बन्दुक बोकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २४ सै घण्टा सुरक्षा दिनेगरी मंसिर २१ गतेसम्म गोरखाको मतपेटिका सुरक्षित राखिने भएको छ । मतपेटिका भण्डारण गरेको कोठामा तीनवटा ताल्चा लगाइएको छ भने बाहिर काँडे तारको बार लगाइएको छ ।

स्थानीय प्रशासन, दलहरु र निर्वाचन अधिकृतको कार्यालयले एउटै ढोकामा छट्टाछुट्टै तीन वटा ताल्चा लगाएका छन् । एकआपसमा ताल्चालाई लाहाछाप लगाइएको छ भने ताल्चा खोल्ने साँचो पनि स्थानीय प्रशासन, दल र निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरले राखेका छन् । मतपेटिका राखिएको क्षेत्र वरपर निगरानी गर्ने गरी दलका प्रतिनिधि बसेका छन् ।

मतपेटिका साटिनसक्ने भय र अनुमानका बीच कडा सुरक्षाका साथ मतपेटिका कोठाभित्र भण्डारण गरिएको छ। क्षेत्र नं. १ को मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको महिला तथा बालबालिका कार्यालयको एउटा कोठामा राखिएको भने क्षेत्र नं. २ का मतपेटिका जिल्ला समन्वय समितिको माथिल्लो सभा हलमा भण्डारण गरिएको छ।

गोरखाका २८२ मतदान केन्द्रका ८४६ वटा मतपेटिका सुरक्षित भण्डारण गरिएको हो । २८ मतदान केन्द्रका ८४ वटा मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको थियो भने अरु मतपेटिका ट्रक, बसलगायत सवारीबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।