उत्तरकोरिया आणविक शक्ति राष्ट्र भएको किम जोङको घोषणा

959
views

उत्तर कोरियाले आणविक विकासमा नयाँ फड्को मारेको छ । उसले बुधबार विहान अहिलेसम्मकै लामो दूरीसम्म मार हान्न सक्ने शक्तिशाही क्षेप्यास्त्र परीक्षण गरेको छ ।

यो परीक्षणपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश आवणविक शक्ति सम्पन्न राष्ट्र भएको घोषणा गरेका छन् । उनले परीक्षणको निरीक्षणपछि सो घोषणा गरेका हुन् ।

‘आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म मार हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब आणविक शक्तिराष्ट्र भएका छौँ’ उनले भने । सो अवसरमा नेता उनले अमेरिकाको जस्तोसुकै आक्रमण गरेपनि आफ्नो देशको रक्षा गर्न सक्ने समेत बताए ।

नेता उनले आणविक वैज्ञानिकहरुलाई धन्यवाद समेत दिएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले बताएको छ । अमेरिकाले पहिलो पटक उत्तर कोरियाको क्षेप्यास्त्र अमेरिकासम्म पुग्ने स्वीकार गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उत्तर कोरियाको पछिल्लो परीक्षण निकै शक्तिशाली भएको भन्दै ५ हजार किलोमिटर भन्दा लामो यात्रा पार गरेको बताएको छ ।

विश्वका अन्य देशका आणविक विश्लेषकहरुले पनि उत्तर कोरियाले चाहेको बेला अमेरिकासम्म मार हान्न सक्ने बताएका छन् ।

यो परीक्षणसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेको एसिया भ्रमणले उत्तर कोरिया दवावमा परेको भनाईको खण्डन मात्र गरेको छैन अब अमेरिकाले सचेत हुनु पर्ने समेत भएको छ ।