डा. आरजुसंग कारागारबाटै चुनावी प्रतिष्पर्धा

1010
views

कैलाली, १४, मंसिर । टीकापुर घटनाका आरोपित तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवासँग भएको बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वाम गठबन्धनका नारदमुनि रानासँग एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा पार्टी नयाँ भएकाले आफ्नो प्रतिस्पर्धा नेपाली काँग्रेसका उम्मेदवारसँग मात्र भएको तर्क गर्नुभयो ।

उहाँले थारु आन्दोलनले उठाएका मुद्दाका विषयमा विगत लामो समयदेखि रगत पसिना बगाएर लडिरहेको र आफूले निर्वाचनका दौरान जनतालाई झुठो आश्वासन नबाँडेकाले कारागार भित्रबाटै निर्वाचनमा विजय हुने बताउनुभयो ।
‘जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार गर्न नपाएकामा आफू अति दुःखी छु,’ उहाँले भन्नुभयो, “फेरि सयौँ शुभेच्छुक, स्वयंसेवक साथीहरु मेरो प्रचारप्रसारमा अहोरात्र लागिपरेको खबरले धेरै नै हर्षित छु ।’

चुनावी प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ भन्ने एक जिज्ञासाको जवाफमा नेता थारुले बिहान ९ः०० देखि ४ः०० बजेसम्म फोनमार्फत आफूले नै प्रचारप्रसार गरिरहेको र महिला, भलमन्सा, उद्योगीलगायतका करिब २६ वटा टोलीले विभिन्न कार्यक्रममार्फत प्रचारप्रसार गरिरहेको जानकारी दिनुभयो ।

चुनावी प्रचारप्रसारका क्रममा बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म कारागारमा दैनिक १५० जनासम्म आफूसँग भेटघाट गर्न आइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । जनताले प्रत्येक गाउँगाउँबाट दैनिक रु ४० हजारदेखि एक लाख ५० हजारसम्म उठाएर प्रचारप्रसारलाई तीव्रता दिएको उहाँको भनाइ छ ।

विगत २७ महिनादेखि कैलाली कारागारमा रहँदै आउनुभएका थारुले चुनावी प्रचारप्रसारका लागि अहिलेसम्म जनताबाट रु १० लाख सहयोग समेत पाएको बताउनुभयो ।