लोकतन्त्रको रक्षा अहिलेको आवश्यकता– प्रम देउवा

यो निर्वाचन जनमतसङ्ग्रह

720
views

अर्जुन काफ्ले
स्याङजा, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–१आयोजना गरेको चुनावी सभामा उहाँले लोकतन्त्रले मात्र जनतालाई सबै अधिकार दिने बताउनुभयो ।

वाम गठबन्धनले जनतालाई अभिभावकविहीन बनाउन खोजेको आरोप लगाउँदै सभापति देउवाले भन्नुभयो, “कम्युनिस्ट शासनमा बोल्ने अधिकार हुँदैन । वाम गठबन्धनको सरकार आएमा एकदलीय शासन हुने बताउँदै उहाँले दमनकारी एकदलीय शासन नरोज्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसले गणतन्त्र ल्याउनुका साथै संविधान बनाएको बताउँदै देउवाले संविधान कार्यान्वयन पनि काँग्रेसले गर्ने बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको संविधान संशोधनको नारा राजनीतिक बेइमानी भएको बताउनुभयो । उहाँले भर्खर बनाएको संविधान संशोधन नभई कार्यान्वयनमा मुख्य जोड दिनुपर्ने बताउनुभयो ।

वाम गठबन्धनको जितले लोकतन्त्रमा ग्रहण लाग्ने बताउँदै नेता पौडेलले भन्नुभयो, “तर लोकतन्त्रवादी जनताको मतले मात्र नेपाली काँग्रेसको रक्षा हुनेछ । ” उहाँले एकदलीय तथा अधिनायकवादी कम्युनिस्टलाई झुक्किएर पनि मतदान नगर्न आग्रह गर्नुभयो ।
कम्युनिस्टहरू माक्र्सवादी पार्टी भएको बताउँदै नेता पौडेलले माक्र्सवादी पार्टी राष्ट्रवादी नहुने बताउनुभयो । उहाँले माक्र्सवादमा राज्य नहुने दाबी गर्दै भन्नुभयो , “प्रचण्ड र केपी ओली कि माक्र्सवादी होइन्न कि राष्ट्रवादी ।’

कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री एवं क्षेत्र नं. २ का उम्मेदवार गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य बालकृष्ण खाँण, नेपाली काँग्रेस जिल्ला सभापति एवं क्षेत्र नं. १ (क)का उम्मेदवार कमलप्रसाद पङ्गेनी, प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजु थापा, प्रदेश (ख)का उम्मेदवार तुलसी गिरीलगायतले स्याङ्जाका सबै क्षेत्र लोकतान्त्रिक गठबन्धनले जित्ने दाबी गर्नुभयो ।

यो निर्वाचन जनमतसङ्ग्रह

यसैबीच नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले जनतादेखि नेता डराउने शासनव्यवस्था ल्याउन खोजेको बताउनुभएको छ । बुधबार पोखराको अमरसिंह चोकमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
उहाँले भन्नुभयो, “कस्तो शासनव्यवस्था रोज्ने भन्ने अधिकार जनतासँगै हुन्छ । वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन खोजेको छ, हामीले जनतासँग नेता डराउने शासनव्यवस्था ल्याउन खोजेका छौँ ।’

सभापति देउवाले यो निर्वाचन कम्युनिस्ट शासित दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमतसङ्ग्रह भएको बताउनुभयो । उहाँले संविधानले आदिवासी, जनजाति, मधेसी सबैलाई ठाउँ दिएको चर्चा गर्दै भन्नुभयो, “भर्खर जारी भएको संविधान कार्यान्वयन हुनै नपाई कम्युनिस्टहरू यसलाई खारेज गरेर तानाशाही लाद्न खोज्दैछन् ।’

सभापति देउवाले आगामी दिनमा वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र आफूले आर्जन गरेको सम्पत्तिको संरक्षण अधिकारसमेत अपहरण हुने धारणा व्यक्त गर्नुभयो ।

लगानीमा समस्या

उहाँले वाम गठबन्धनले दिएको समृद्धिको नारा फोस्रो भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्टले कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरू आए स्वदेशी÷विदेशी कुनै पनि लगानी नेपालमा थपिँदैन । विदेशी त आउँदैनन्, आउँदैनन्स स्वदेशी लगानी पनि बाहिर जान्छ । ” उहाँले नेपाली काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्दै आएको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहोर थुपार्ने कन्टेनर बनाउन लागेको आरोप लगाउनुभयो । स्थानीय निकायको निर्वाचनबाट केही बढी सिट ल्याउँदैमा नेकपा (एमाले)ले बहुदलीय मान्यतालाई तिलाञ्जलि दिएर साम्यवाद अँगाल्न पुगेको टिप्पणी गर्नुभयो ।

वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्था अन्त्य हुने बताउँदै उहाँले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दाबी गर्नुभयो । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेसले बहुमत ल्याएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने उद्घोष गर्नुभयो ।

आमसभामा उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आबद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै रोजगारी सिर्जना र आर्थिक उन्नति काँग्रेसको एजेन्डा भएको चर्चा गर्नुभयो ।