उपत्यकामा गर्भपतन गराउने किशोरीको संख्या बर्षमा ३२ सय

727
views

मंसिर, १६ गते । उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको बताए । ‘सरकारले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ,’ श्रेष्ठले भने, ‘किशोर–किशोरीले असुरक्षित यौनसम्पर्क गर्ने र गर्भ बसेको अवस्थामा सुरक्षित गर्भपतन गराउने प्रचलन बढेको छ ।’

२० वर्षभन्दा कम उमेरका ठूलो संख्यामा किशोरीहरू गर्भपतन गराउनतर्फ लागेपछि सरकारले यसप्रति चासो र चिन्ता व्यक्त गरेको छ । सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ । प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरू गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए । ‘यस्ता स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा कुनै रिपोर्ट राखिएको हुँदैन,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार तीन आर्थिक वर्षमध्ये ०७२÷७३ मा गर्भपतन गराउनेको दर धेरै छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार ०७१र७२ मा १३ हजार ६०९ जनाले गरेको सुरक्षित गर्भपतन गराएका थिए ।

जसमध्ये २० वर्षमुनिका २५ प्रतिशत किशोरी थिए । आव ०७२र७३ मा १५ हजार ३०६ जनाले गर्भपतन गराएकोमा ३० प्रतिशत अर्थात् ३२ सय ६६ जना किशोरी थिए । ०७३र७४ मा सुरक्षित गर्भपतन गराउनेको संख्या १३ हजार ५७ जना रहेकामा २४ प्रतिशत किशोरी २० वर्षमुनिका थिए ।

२० वर्षमुनिका २४ प्रतिशत

सरकारमातहत सूचीकृत ७० वटा स्वास्थ्य संस्थाले सरकारलाई बुझाएको रिपोर्टअनुसार गर्भपतन गराउने किशोरीको संख्या २४ प्रतिशत रहेको छ । ‘तर, ठूलो संख्यामा २० वर्षमुनिका किशोरीले निजी क्लिनिक गई गर्भपतन गराउँदै आए पनि औपचारिक तथ्यांक आइसकेको छैन,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने । आव ०७३र७४ मा उपत्यकामा १३ हजार ५७ जनाले गर्भपतन गराएका छन् । ‘यो संख्या अत्यन्तै कम हो, बाहिर नखुलेको संख्या धेरै छ,’ बिजुक्छेले भने ।

यस्तो छ परिवार नियोजनको साधन प्रयोग

बन्ध्याकरण ४४.२५ प्रतिशत महिला–पुरुष दुवै
आयुसिडी १७.४६ प्रतिशत स् १२ वर्ष काम गर्छ
इन्प्लान्ट १३.९७ प्रतिशत स् पाँच वर्ष काम गर्छ
डिपो १४.५१ प्रतिशत स् तीन महिना काम गर्छ
पिल्स ६.७७ प्रतिशत स् दैनिक प्रयोग गर्नुपर्छ
कन्डम ३.०१ प्रतिशत स् यौन सम्पर्कका वेला

गर्भपतन गराउनेको स्वास्थ्यमा धेरै समस्या

कम उमेरमा गर्भपतन गराउनेमा स्वास्थ्य समस्या बढी देखिएको छ । गर्भपतन गराएपछि पुनः समस्या भएर उपचारका लागि स्वास्थ्य संस्थामा आउनेको संख्या धेरै छ । आव ०७१र७२ मा १४५, ०७२र७३ मा २६ प्रतिशत र ०७३र७४ मा २४५ किशोरी गर्भपतनपछि समस्या लिएर उपचारका लागि अस्पताल जाने गरेको अर्जुन अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन् ।