ताप्लेजुङ, १९ मंसिर । ताप्लेजुङमा उतपादित कफीले बजार नपाएको कफी उत्पादक किसानको गुनाासो छ । जिल्लामा आयोजित दुई दिने कफी प्रशोधन तथा बजार व्यवस्थापनसम्बन्धी तालिममा सहभागी किसानले कफी खेतीका लागि ताप्लेजुङमा उपयुक्त माटो र अनुकूल वातावरण भए पनि बजारको अभावले खेती विस्तार हुन नसकेको बताए । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिनका किसान तुलसीप्रसाद मैनालीले बजार अभावकै कारण कफीखेतीमा गरेको लगानी खेर गइरहेको बताए ।
आठराई त्रिवेणी ४ चाँगेका किसान तेजमान आङ्बुहाङले पनि आफ्नो खेतीबाट उत्पादन भएको कफीले बजार नपाउँदा आम्दानी लिन नसकेको गुनासो व्यक्त गरे ।
सिरिजङ्घा गाउँपालिका २ आम्बेगुदिनका किसान गोपाल पौडेलले आफूले उत्पादन गरेको ३० पाथी (करिब ९० केजी) कफी बेच्न मुस्किल भएको बाँकी ६० पाथी (तीन मुरी) कफी बिक्री नभएको बताए ।
सिरिजङ्घा ४ तेल्लोकका किसान रामकुमार इवाराम पनि २०५२ सालबाट कफीखेतीमा संलग्न रहँदै आएको तर, हाल आएर उत्पादित कफीले बजार नपाउँदा लगानी खेर गएको भन्दै निरास भए ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरेले हाल जिल्लामा करिब ५५ हेक्टर क्षेत्रफलमा मात्र कफीखेती हुँदै आएको र मागअनुसार कफी उपलब्ध हुनसके कफीको बजारका लागि कार्यालयले सहयोग गर्ने बताए ।
घिमिरेले जिल्लाको २७ हजार ५०० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये पाँच हजार ५०० हेक्टर क्षेत्रफल बाँझो जमिन रहेको छ । बाँझो रहेको २२ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा मात्रै कफीखेती लगाउने हो भने धेरै आम्दानी लिन सकिने बताए ।