३२ जिल्लाको मतगणना ५ बजेदेखी

726
views

काठमाण्डौ २१ मंसिर । मंसिर १० गते ३२ जिल्लामा भएको चुनावको मतगणना बिहीबार साँझ ५ बजेबाट शुरु हुने भएको छ । मतदान सकिएको ११ दिन भइसक्दा पनि मतगणना नभएको कारण उम्मेद्वारहरु जतिसक्दो छिटो मतगणना गर्न आतुर देखिन्छन् । त्यसैले ४५ जिल्लामा आज मतदान सकिएलगत्तै ३२ जिल्लाको मतगणना सुरु गर्न लागिएको छ ।

बिहीबार बिहानदेखि नै पहिलो चरणमा मतदान भएका केही जिल्लाहरुमा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

यसपटक मतगणना गर्ने स्थानमा दलका प्रतिनिधिहरुलाई सहजै मतपत्र छुन नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ भने बदर मत छुट्टाएर मात्र सदर मतको गणना हुन्छ । शुक्रबारसम्म कम मतदाता भएका क्षेत्रको मतगणना आइसक्ने आयोगले जनाएको छ ।

कुनै विवाद भएर मतगणना ढिला नभए सबैभन्दा पहिले कम मतदाता भएका जिल्लाको परिणाम आउनेछ । सबैभन्दा कम मतदाता मनाङमा रहेको छ । यहाँ ५ हजार ८ सय ८० मतदाता रहेका छन् भने यहाँको मतपत्र पनि दुई वटा चिह्नमात्र रहेको हुनाले गणना छिटो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी मुस्ताङमा पनि ९ हजार ४२७ मतदाता मात्र रहेका छन् । यहाँको प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्रमा पनि दुई वटा मात्र चिह्न रहेका छन् । यि दुई जिल्लाको मतगणना रातभरीमा सकिने अनुमान गरिएको छ ।