गरिबी

1284
views

-कविता

गरिबी तिमी को हौ ?
गरिबी तिमीले धर्मका सयौ धार जन्मायौ
राजनीतिका नारा जन्मायौ
खाडीको तातो बालुवामा
युवा जतिलाई पसिना बगाउन लगायौ
कति युवायुवतीको जवानी लुट्यौ
कति आमाहरूको बात्सल्य भाव खोस्यौ
गरिबी, भन तिमी को हौ ?
मानवतालाई बर्गको पर्खालले छेक्यौ
तिमी त भन्छौ जति बुढो संसार त्यति बुढो म
तर,
मलाई तिम्रो उमेर र जेष्ठतासँग कुनै साइनो छैन्
मैले यति जान्न चाहे कि
किन तिमीले मानवहरूका
बस्तीका बस्ती उठीबास गरायौ
ती आकासे छानो बनाएकाहरूको गाँस लुट्यौ
ती असहाय र बेसहराहरूको सास थुन्यौ
ती अबोध बालकहरूको क्रन्दन खोस्यौ
गरिबी,
भन साच्चै तिमी को हौ ?
किन तिमी यति निठुर र निर्दयी बनेको
कसले जन्म दियो तिमीलाई ?
कसले हुर्कायो तिमीलाई ?
यतिका युगसम्म
म त
तिम्रो मुत्युको दिन गनेर बसेको
आजैदेखि,
तिम्रो मक्किएको थोत्रो जीवन
विरूप अनुहार
अब उप्रान्त हेर्न मन छैन मलाई
मलाई तिम्रो क्रुरता र पराकाष्टको
प्रचार नि गर्नु छैन यहाँ
मैले चाहेको त
इतिहासबाटै नामेट गराउनु हो तिम्रो नाम
अब आउने पुस्ताले
नपढने गरी
सधै सधैलाई ।

लेखकः खड्क बोहरा बझाङ