सत्ताको चुल्होमा फोरम कि माओवादी ? ओली यादव भेटले बाम एकतामा तरङ्ग

786
views

काठमाण्डौ, ११ पुस । चुनावपछिको सत्ता राजनीति तरल बनिरहेको अवस्थामा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बाक्लिएको भेटघाट र हिमचिमले बाम एकतामा तरङ्ग मच्चिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि सन्दर्भमा शनिबार नवलपरासीको कावासोतीमा आफ्ना कार्यकर्ताहरूमाझ ‘चुनाव परिणाम आउन सुरु हुँदै गर्दा एमाले आफू एक्लैको बहुमत आउने र एक्लै सरकार बनाउने पक्षमा देखिएको बताएका थिए ।

समानुपातिकतर्फ कांग्रेसको एमालेसँग हाराहारी मत आएपछि मात्रै हामीसँग फेरि पार्टी एकताको कुरा गर्न थाल्यो ।’ उनले भने, ‘यसबीच एमालेले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने प्रयास पनि गरेको छ । त्यो सफल नभएपछि माओवादीसँगै सरकार बनाउने पक्षमा देखिएको हो ।’

माओवादी अध्यक्ष प्रचण्डका यी भनाइहरूले राजनीतिलाई सम्भावनाहरूको खेल मान्ने हो भने पार्टी र सरकारको हिसाबकिताब नमिलेर वाम गठबन्धनलाई यतैकतै विश्राम दिनुपर्ने अवस्था आएको खण्डमा समाजवादी फोरम सरकारको ‘किङ मेकर’ बन्ने पक्का छ । यही सम्भावनालाई मध्यनजर गरेरै ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवलाई विश्वासमा लिने प्रयत्न गरिरहेको विश्लेषण हुन थालेको छ ।

पछिल्लो चुनावी परिणामअनुसार एमाले र फोरम मिलेर सरकार बनाउन सक्ने सहजता दुवै दलसँग छ । एमालेको प्रत्यक्ष र समानुपातिक गरी १ सय २१ सांसद हुनेछन् भने फोरमका १६ जना हुनेछन् । यसरी उनीहरूसँग कुल १ सय ३७ सांसद हुनेछन् ।

प्रतिनिधिसभामा बहुमतको सरकार बनाउन १ सय ३८ सांसदको आवश्यकता पर्छ । संसदमा राजेन्द्र लिङ्देन, छक्कबहादुर लामा, बाबुराम भट्टराई, दुर्गा पौडेल, प्रेम सुवालसहित पाँच जना स्वतन्त्र सांसद छन् । यीमध्ये कसैको पनि सहयोगमा एमाले र फोरमको बहुमत सरकार बन्न सक्छ । यसकारण पनि एमाले अध्यक्ष ओली र फोरम अध्यक्ष यादवको भेटघाटले नयाँ सरकार निर्माणको सन्दर्भमा नयाँ अध्यायको सुरुवात नगर्ला भन्न सकिन्न ।