मुम्बईमा आगलागी, १४ को मृत्यु

629
views

काठमाण्डौ, १४ पुस । मुम्बईको लोअर परेल क्षेत्रमा शुक्रवार एउटा भवनमा भएको आगलागीमा कम्तीमा १४ जनाको ज्यान गएको छ । लोकप्रिय कमला मिल्स रेष्टुराँ र किनमेल केन्द्र रहेको भवनमा मध्यरात १२ बजेपछि आगलागी शुरु भएको थियो ।

त्यसको आधा घण्टापछि आगो फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनालाई अस्पताल भर्ना गरिएको मुम्बईको विपद् व्यवस्थापन महाशाखाले बीबीसीलाई बताएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार वान अबोभ रुफटप रेष्टुराँबाट आगलागी शुरु भएको थियो । टाइम्स अफ इण्डियाका अनुसार कतिपय आगन्तुकले शौचालयमा शरण लिन खोजेका थिए र त्यहीं थुनिन पुगेका थिए ।

मृत्यु हुनेमा अधिकांश रमाइलो गर्न भेला भएका महिला छन् । २८ औं जन्मदिन मनाइरहेकी एक महिलाको पनि मृत्यु भएको उनका हजुरबुबाले समाचार संस्था रोयटर्सलाई बताए । कमला मिल्स पुनर्निर्माण गरिएको औद्योगिक हाता हो जहाँ थुप्रै महँगा रेष्टुराँ, बार तथा कार्यालयहरु छन् ।