रुपन्देहीका व्यवसायी पौडेल हत्याको जिम्मा मनोज पुनले लिए

831
views

बुटबल, २१ पुस । रुपन्देहीको देवदहमा एक व्यवसायीको गोली हानी हत्या भएको छ। देवदह–२, ढेकावारमा आज बिहान ११ बजे फर्निचर व्यवसाय गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले टेलिफोन गरी जिम्मा लिएका छन् । बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् ।

पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।