न्यायाधीशसमक्ष लालुप्रसादको अनुरोध

692
views

एजेन्सी राँची । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले न्यायाधीशसँग जेलभित्र धेरै समस्या आइरहेको र त्यसबाट छुटकारा पाउन अनुरोध गरेका छन् । जेलभित्रको दैनिक जीवन कठोर बनिरहेकाले छिटै जेलमुक्त हुन पाऊँ भनी आग्रह लालुप्रसादले न्यायाधीशसमक्ष गरेका छन् ।

चर्चित ‘चारा घोटाला’ काण्डको सुनवाइका क्रममा बिहीबार अदालत पुगेका लालुप्रसादले न्यायाधीशसमक्ष त्यस किसिमको अनुरोध गरेको भारतीय एजेन्सीहरूले जनाएका छन् । त्यो मुद्दा अहिले झारखण्डको अदालतमा चलिरहेको छ । प्रहरीले गत साता चारा घोटालाका १६ मुख्य दोषीहरूलाई पक्री लालुप्रसादलाई पनि हिरासतमा लिएको हो । सबै दोषीलाई प्रहरीले एकैपटक मुद्दा चलाएको छ ।

न्यायाधीशसँग रमाइलो आग्रह
प्रहरीले बिहीबारको सुनवाइका क्रममा लालुप्रसादलाई अदालतमा प्रस्तुत र्गयो । अदालतले शुक्रबार आफ्नो फैसला सुनाउनेछ । बिहीबार बहसका क्रममा लालुले न्यायाधीशलाई आफूतर्फ ध्यानाकर्षण गरी न्याय पाउनेमा विश्वस्त रहेको बताए । तर, उनले धेरैजसो समय न्यायाधीशलाई जेलमा भोगिरहेको समस्या मात्र बताइरहे । न्यायाधीशले पनि लालुलाई ठट्टा गर्दै जेलभित्र चिसो भए तबला र हारमोनियम बजाउन सुझाब दिएका छन् ।

भाजपाले मलाई फसायो
अदालतको कारबाही पूरा गरी जेल जाने क्रममा लालुप्रसादले भारतीय सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका छन् । यसक्रममा लालुप्रसादले आफूलाई भारतीय जनता पार्टीले फसाएको आरोप लगाएका छन् । ‘मलाई भाजपाले फसायो,’ लालुप्रसादले भने, ‘भाजपाले मलाई जेलभित्रै राख्न धेरै षड्यन्त्र गरिरहेको छ ।’ अदालतले आफूलाई न्याय दिनेमा विश्वस्त रहेको उनको भनाइ छ । ‘म पूर्ण आशावादी छु, अदालतले शुक्रबार मलाई जेलमुक्त गर्नेछ,’ उनले भने ।

सात वर्ष जेल सजाय हुन सक्ने
अदालतले चारा घोटालाका मुख्य दोषीलाई धेरैमा सात वर्ष र थोरैमा एक वर्ष जेल सजाय फैसला सुनाउन सक्ने एजेन्सीहरूले जनाएका छन् । यता लालुप्रसादका वकिल प्रभात कुमारले पनि आफ्नो एजेन्टलगायत अन्य व्यक्तिले कम्तीमा एक वर्ष जेल सजाय पाउने बताए । यता धारा ४०९ लागू भए लालुले १० वर्ष जेल सजाय पाउनेछन् । यसैगरी धारा ४६७ अनुसार जन्मकैद पनि हुन सक्छ ।

न्यायाधीश र लालुबीच प्रश्नोत्तर

लालुः जजसाहब, जेलमा धेरै समस्या सामना गर्नुपरेको छ । त्यहाँ कोहीसँग पनि भेट गर्न पाउँदिनँ । र, जेलमा धेरै चिसो पनि हुन्छ ।

न्यायाधीशः जेलमा मानिससँग भेट गर्न नपाउने भएका कारणले नै तपाईंलाई अदालतमा बोलाउने गरेको हो । यहाँ तपाईंले धेरै मानिससँग भेटवार्ता पनि गर्न सक्नुहुन्छ । यदि जेलमा चिसो अत्यधिक भए हारमोनियम र तबला बजाएर मस्त हुनुहोस्।

लालुः जजसाहेब, मैले केही पनि गरेकोे छैन, म निर्दोष छु ।

न्यायाधीश स् त्यसवेला बिहारको सिएम तपाईं नै हुनुहुन्थ्यो नि । फेरि वित्तमन्त्रीसमेत तपाईं नै होइन र ? सिएम र मन्त्रीका रूपमा तपाईंले तत्काल कसैलाई पनि कारबाही गर्नुभएन । तपाईं अहिले बाहिर जानुस्, तपाईंको नम्बर अहिले आएको छैन ।

लालुः जजसाहेब, म पनि एक वकिल हुँ । तपाईंलाई थाहा छ कि छैन ?

न्यायाधीशः त्यसो भए तपाईंले जेलभित्रै एक डिग्री लिनुस् । अदालतलाई जानकारी दिइराख्नु पर्दैन, वकिल भनी ।

लालुः जजसाहेब एकपटक मेरो लागि चिसो र ठन्डा दिमागले सोच्नुस् न । सबै कुरा राम्रो भइहाल्छ ।

न्यायाधीशः म कसैको कुरा पनि सुन्दिनँ । तपाईंका शुभचिन्तकहरूले कहाँ–कहाँबाट मलाई फोन गरेका छैनन्, तर म कानुनकै हिसाबअनुसार चलिरहेको छु । यदि तपाईंलाई अदालतमा आउन अप्ठेरो परेको छ भने हामी भिडियो कन्फरेन्स व्यवस्था मिलाइदिन सक्छौँ ।

लालुः हैन, हैन । म अदातलमै हाजिर हुन आउँछु । मलाई अदालतमा आउन त्यस्तो केही समस्या छैन ।

न्यायाधीशः अब हामी यस्तो समयमा तपाईंलाई बोलाउँछौँ कि कसैलाई पनि थाहा हुनेछैन ।