काँग्रेस नेता गगन थापालाई बम हान्ने धरौटीमा रिहा

682
views

काठमाडौँ २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । अभियुक्तद्वय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अर्का अभियुक्त राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाइदिएको छ । उनीहरु सबैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाएको थियो । उनीहरुलाई अदालतले बुधबार रु १० हजारका दरले धरौटी लिएर रिहा गरेको थियो ।

गत १८ गते काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएर घरदैलो गरिरहेका बेला थापासहितको टोलीलाई लक्षित चपलीमा बम आक्रमण भएको थियो । आक्रमणबाट थापासहित ११ जना घाइते भएका थिए ।