चिसोले हिमाल पहाड तराईको जनजीवन प्रभावित

806
views

पर्वत, २४ पुस । हिमाली र पहाडी जिल्लासँगै चिसो बढेपछि तराई पनि प्रभावित भएको छ । अत्याधिक चिसोले सिराहा र सप्तरीमा मान्छेको ज्यानै समेत लिएको छ । चिसोका कारण विद्यालयहरू लामो समयका लागि बन्द गरिएको छ । पछिल्लो केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । त्यसैगरी सप्तरीमा शनिबार दुई जनाको मृत्यु भएको छ । अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा बिदाको समय थप एक साता बढाइएको छ । त्यसैगरी चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप चार दिनका लागि बन्द गरिएको छ ।

मोरङ समेत प्रभावित
केही दिनयता अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आइतबार गरेको हो । सोमबारदेखि लागू हुने गरी यही पुस २८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिनुभयो ।
कैलालीमा दाउरा वितरण
चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रका विभिन्न स्थानमा शनिबारदेखि दाउरा वितरण गर्न सुरु गरेको छ । यस क्षेत्रमा लगातार एक सातायता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको छ । उपमहानगरपालिकाले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै त्यसबाट प्रभावितलाई राहतस्वरूप बजारका चोकचोकमा दाउरा वितरण गरिएकोे जनाएको छ । नगर प्रमुख नृपबहादुर वडले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि शनिबार बजारका मुख्य मुख्य चोकमा दाउरा वितरण गरिए पनि आइतबारदेखि भित्री बस्ती तथा चोकमा दाउरा वितरण गरिने जानकारी दिनुभयो ।
रक्षा गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मौसम परिवर्तनसँगै तराई मधेस, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता चिसो बढ्न गई सर्वसाधारणको मृत्युसमेत भएको तथा दैनिक जीवनमा हुन गएको कष्टकर अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शीतलहर, हिमपात तथा चिसोका कारण हुम्ला, जाजरकोट, सप्तरी, सिराहा, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको आयोगको अनुगमनबाट पाइएको छ । लामो समयदेखि त्रिपालमा बस्दै आएका बाढीपीडित तथा भूकम्पपीडित, मुसहर बस्तीका बासिन्दा एवम् न्यून आयस्रोत भएका समुदायका बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी एवम् बिरामी व्यक्ति उच्च जोखिममा रहेको अनुगमनबाट बुझिएको आयोगले जनाएको छ ।