मौसम विभागद्वारा मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

942
views

काठमाण्डौ, २८, पुस । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु भइसकेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो ।

सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । य वास्तविक सूचना प्रविधिको विकास हो ।राडारका लागि एशियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ ।

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप – बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । एक राडारको पूर्वाधारसहित करिब रु २४ करोड पर्छ ।

राडारले नेपाली आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बीर खिच्छ । पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्बीर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ । पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ महानिर्देशक शर्माो भनाई छ ।

अठासी वटा मौसम मापन केन्द्र जडान हुँदै
मौसम पूर्वानुमान गर्नका लागि चालु आवको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ । अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन् । मौसम विभागमा २२ जना मौसमविद् छन् । देशभर तापक्रम नाप्ने यन्त्र १५०, वर्षा नाप्ने ५०० र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन् ।

फागुनमा पहिलो मौसमी बेलुन उड्ने
मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न र विश्वको विवरण (डाटा) प्रयोग भइरहेको अवथामा नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ । जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र नपुग्ने हुँदा माथिल्लो वायुमण्डलमा कस्तो मौसमी गतिविधि छ, भनेर डाटा लिन नसकिरहेको वर्तमान समयमा आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ ।

यसले माथिल्लो वायुमण्डलको मौसमी विवरण लिन सहज हुन्छ । बेलुनमा हाइड्रोजन ग्यास छोडिन्छ, बेलुन जति माथि जान्छ, त्यहाँको तापक्रम सापेक्षिक आद्रताको अवस्था हावाको गति कुन दिशातिर बहेको छ भनेर तल जमिनको रिसिभिङ स्टेशनमा पठाउँने छ । जसको विवरण राख्न शक्तिशाली कम्प्युटर चाहिन्छ । नेपालमा पहिलो पटक सुपर कम्प्युटर (हाई पावर कम्प्युटिङ) खरिदका लागि टेण्डर गरिसकेको विभागले जनाएको छ ।

चट्याङसम्बन्धी सञ्जाल निर्माण

मौसम विभागले प्राकृतिक प्रकोपको दुर्घटनाका रुपमा लिइने चट्याङ कहाँ, कस्तो र कहिले पर्दैछ भन्ने पूर्वजानकारी दिने उद्देश्यले पहिलो पटक चट्याङ सम्बन्धी सञ्जाल निर्माण गर्ने भएको छ । यो काम अहिले लगभग सकिएको छ । परामर्शदाता कम्पनीले अबको तीन महिनाभित्र सबै तथ्यांक विभागलाई बुझाएपछि चट्याङसम्बन्धी अनुगमन तथा केही समयपछि पूर्वानुमान गर्न सकिने महानिर्देशक शर्माको भनाइ छ ।