राष्ट्रियसभाको चुनावपछि संसदले पूर्णता पाउँछ–प्रम देउवा

863
views

धनगढी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताउनुभएको छ । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै देउवाले राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट गर्नुभयो ।

उहाँले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताउनुभयो । गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजनाअनुसार यस वर्ष बाह्रराशि दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ ।

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएको शास्त्रीय मान्यतानुसार प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताउनुभयो । मेला माघ १ देखि १२ गतेसम्म लाग्ने जनाइएको छ ।