नुवाकोटका भूकम्प पीडितलाई सरकारी घडेरी

876
views

नुवाकोट ७, माघ । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ । भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए ।

उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई पुस अन्तिम साता नै बुदुनेमा जग्गा उपलब्ध गराइएको थियो । २४ विस्थापितको पुनःस्थापनाको काम शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकरणले दोस्रो चरणमा थप २७ परिवारका लागि नौ रोपनी जग्गा खरिद गरी घर बनाउन घडेरी उपलब्ध गराएको हो ।

भूकम्पले आवास पूर्ण क्षति भएका र पहिरोले बस्तीमासमेत जोखिम पु¥याएको परिवारलाई भूगर्वविद्को अध्ययन प्रतिवेदनको आधारमा सुरक्षित स्थानमा पुनःस्थापनाका लागि सरकारले घडेरी खरिद गर्न दुई लाख पैयाँ अनुदान दिने प्रावधान छ । सोही प्रावधानअनुसार सरकारी सहयोगमा जग्गा खरिद गरी पीडितलाई हस्तान्तरण गरिएको हो।

प्रभावितका लागि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको सहजीकरणमा गाउँपालिका अध्यक्ष पाण्डेसहित नौ जनाले एकै स्थानमा जग्गा उपलब्ध गराएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलका अनुसार ५४ लाख सरकारी अनुदानमा खरिद गरिएको जग्गा श्रीमान÷श्रीमती भएकाको हकमा संयुक्त लालपुर्जा बनाएर प्रदान गरिएको छ ।

उर्लेनीबाट विस्थापित ५१ घरधुरीलाई एकै स्थानमा राख्ने सरकारी तयारी छ । गाउँका २२ विस्थापित परिवारको लागि पनि जग्गा व्यवस्थापन अन्तिम चरणमा पुगेको प्राधिकरणको जिल्ला कार्यालयले जनाएको छ ।