शहीद सप्ताह शुरु- पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

2092
views

काठमाण्डौ, १० माघ । देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गर्नुभएको टेकू खरिबोटमा उहाँको तस्बिरमा माल्यार्पण गरी स्मरण गरिएको छ ।

माल्यार्पण गर्ने क्रममा कामपाका प्रमुख शाक्यले शहीदको बलिदानले आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सम्भव भएको भन्दै प्राप्त उपलब्धिको संस्थागत एवं सदुपयोगले शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । विसं १९५० मा बनारसमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । यसै क्रममा काठमाडाँैंको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाई उहाँलार्ई १९९७ माघ १० गते टेकू पचलीस्थित खरिबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
शास्त्रीको श्रद्धाञ्जलिसभा भएको उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।

त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा हुनेछ । त्यसैगरी माघ १६ गते सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जलिसभा हुनेछ । यसैबीचमा महानगरले स्वास्थ्य शिविर तथा विद्यालयस्तरीय वकृत्वकला कार्यक्रमको आयोजना पनि गर्नेछ । करिब २० वर्षपछि कामपाले जनप्रतिनिधिको साथमा सहिद सप्ताह मनाउन शुरु गरेको हो ।