अफगानिस्तानमा सहायता संस्थामा हमला

753
views

एजेन्सी काबुल, ११ माघ । अतिवादीहरूले पूर्वी अफगानिस्तानमा रहेको अन्तराष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ दी चिल्ड्रेनको कार्यालयमा आक्रमण गरेका छन् । अतिवादीको एउटा समूहले जलालाबादस्थित सो कार्यालयको हातामा विस्फोट गराएका हुन् । विस्फोटमा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।

आक्रमणकारीले भवनको मुख्य प्रवेशद्वारमा शक्तिशाली विस्फोट गराएका थिए । आक्रमणको समयमा सो भवनमा ५० विदेशी कर्मचारी थिए । आक्रमणमा तीन बन्दुकधारी संलग्न रहेको जनाइएको छ । बिहान सुरु भएको हमला दिउँसोसम्म चलिरहेको थियो ।

आक्रमणको जिम्मा आइएसले लियो
आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस)ले लिएको छ । पाकिस्तानसँगको सीमामा रहेको जलालाबादमा विगतमा पनि तालिवान लडाकुहरूले निसाना बनाएका थिए । आइएसआबद्ध वेबसाइट अमाक्युले तीन आक्रमणकारीले जलालाबादमा रहेका बेलायती, स्विडिस र अफगान संस्थामाथि निसाना बनाएको जनाइएको छ । सन् २०१५ देखि सो क्षेत्रमा आइएस सक्रिय छ ।

एक साताअघि मात्र तालिवान लडाकुले काबुलमा रहेको एक सुविधासम्पन्न होटेलमा अन्धाधुन्द हमला गर्दा २२ जनाको मृत्यु भएको थियो ।
सेभ दी चिल्ड्रेन के भन्छ ?
आक्रमणपछि सेभ दी चिल्डे«नले अफगानिस्तानमा सञ्चालित आफ्ना कार्यक्रम तत्कालका लागि बन्द गरेको जनाएको छ । ‘तत्कालका लागि अफगानिस्तानमा हाम्रा कार्यक्रम अस्थायी रूपमा बन्द गरिएको छ,’ सो संस्थाले भनेको छ । तर, सम्भव भएसम्म जतिसक्दो चाँडो आफ्ना कार्यक्रम सुचारु गर्ने पनि सो संस्थाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणको खबरले आफूहरू अत्यन्तै दुःखी भएको सेभ दी चिल्ड्रेनका प्रवक्ताले भने, ‘हाम्रो मुख्य चासो हाम्रा कर्मचारीको सुरक्षा हो ।’ दातृसंगठनमाथिको हमला अन्तराष्ट्रिय कानुनविपरीत भएको अफगानिस्तानस्थित राष्ट्रसंघको मिसनले भनेको छ । अन्तराष्ट्रिय विकासका लागि बेलायतका विदेशमन्त्री पेनी मोरडन्टले आक्रमणको निन्दा गरेका छन् ।

अफगानिस्तानमा सेभ दी चिल्ड्रेनले के गर्छ ?
सेभ दी चिल्ड्रेनले सन् १९७६ देखि अफगानिस्तानमा विभिन्न सेवामूलक कार्य गर्दै आएको छ । उसले अहिले अफगानिस्तानका १६ प्रान्तमा कार्यक्रम सञ्चालन गरिरहेको छ । सो दातृनिकायका अनुसार अफगानिस्तानका सात लाख बालबालिका कार्यक्रमबाट लाभान्वित छन् । अफगान बालबालिकालाई शिक्षा, स्वास्थ्य उपचारलगायतका आधारभूत विषयमा पहुँच बढाएको सो संस्थाले जनाएको छ ।