बेनी नगरपालिकाले गर्यो फोहोरदेखी वधशाला निमार्णसम्मको निर्णय

722
views

म्याग्दी, १५ माघ । डेढ दशकको प्रयासपछि सदरमुकाम बेनीको फोहोर व्यवस्थापन गर्ने स्थान पहिचान भएको छ । बेनी नगर कार्यपालिकाको हालै बसेको बैठकले बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेनपा ३ भकिम्लीका जनप्रतिनिधि र सरोकारवालाहरुले बस्ती देखि टाढा रहेको उक्त स्थानमा फोहोर व्यवस्थापन केन्द्र बनाउन सहमत भएका छन् ।

कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरि व्यवस्थापन गरिने भएको छ । कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाई कवाडीमा बिक्री गरी आम्दानी गर्ने नगरपालिकाको योजना छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई मन्त्रालयले गत वर्षनै साठी लाख रुपैयाँ उपलब्ध गराएपनि ठाउँ पहिचान नहुँदा खर्च हुन सकेको थिएन ।

यसैगरी नगरपालिकाले हाँडेभिरमा बधशाला निर्माण प्रक्रिया अघि बढाएको छ । बधशाला निर्माणका लागि सर्वेक्षण भैसकेको छ । बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई कार्यपालिकाको बैठकले बधशाला निर्माणका लागि समन्वयको जिम्मेवारी दिएको छ । एक महिनाभित्र बधशाला निर्माण गरीसक्ने गरी फास्ट ट्याकबाट काम अघि बढाएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले गलेश्वर जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक, बेनीको म्याग्दी बालगृहका अनाथ बालबालीका, बालजागृती आधारभुत विद्यालयको वौद्धीक अपाङगता, धौलागिरी माविको बहिरा स्रोत कक्षाका विद्यार्थी र वडा कार्यालयको सिफारिसमा अशक्त असाहय नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ ।